किन गुमनाम बन्यो भाले बास्ने ताल ? रोचक छ ईतिहास

किन गुमनाम बन्यो भाले बास्ने ताल ? रोचक छ ईतिहास

  • शुक्रबार, असार १, २०७५
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

– धु्रवसागर शर्मा
म्याग्दी, १ असार । वरिपरि घना जंगल । जंगलको बीचमा पहाडबाट छङछङ गर्दै झरेको झरना, त्यही झरनाका कारण बनेको भाले बास्ने ताल । बिहानीपख यहाँ भाले बास्ने भएकाले स्थानीय बासिन्दाले तालको नाम नै ‘भाले बास्ने ताल’ राखेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीमा रहेको नेपालको आर्कषक तालको सूचीमा पर्ने भाले बास्ने ताल अपार पर्यटकीय सम्भावना हुँदाहुँदै पनि गुमनाम छ । नेपालमा भाले बास्ने ताल कहाँ पर्छ ? लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरूमा सोधिने यो प्रश्नको उत्तर बाहिरकालाई त के म्याग्देलीलाई समेत थाहा छैन । प्रचारप्रसार र पूर्वाधारको अभावमा विभिन्न मिथक र सांस्कृतिक विरासत बोकेको यो ताल ओझेलमा परेको हो ।

नेपालका आर्कषक तालमध्येको सूचीमा रहेको यो तालको शिरानमा एउटा शिव मन्दिर रहेको छ । यो मन्दिरमा प्रातःकालमा दिनहुँ एउटा भाले बास्ने गर्दछ । त्यो भाले कताबाट आउँछ र फेरि कहाँ जान्छ स्थानीयवासीलाई कुनै पत्तो हुँदैन ।

मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । धामीझाँक्रीले तालमा स्नान गरेर मन्दिरमा आई पूजाआजा गर्ने र आफ्नो शक्ति प्राप्तिका लागि साँढेको बली दिने गर्छन् । ताल आसपासमा देवताको शक्ति रहेको धार्मिक विश्वास रहेको दुखुबेसीका ८९ वर्षीय धनबहादुर गुरूङले बताउनुभयो । बाल्यकालमा जंगलमा पुग्दा भाले बासेको आवाज सुन्नेले गाउँमा पुगेर सन्देश फैलाउने गर्थे । पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा नीलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावरसमेत भेटिने गरेको गुरूङको भनाइ छ ।

‘नयाँ पुस्ताले तालको महत्वलाई वास्ता गर्न छाडे, पहिले ताल नजिकको मन्दिरमा नियमित पूजाआजा हुने गर्दथ्यो,’ गाउँकै जेष्ठ नागरिक समेत रहेका गुरूङले भन्नुभयो ।

बाल्यकालमा झरना र ताल आसपासमा पुगेर पूजाआजा गरेको र खोलामा नुहाएर फर्किने गरेको अनुभव गुरूङले सुनाउनुभयो । ताल नजिकको जंगलमा भेटिने सुन्तला, उखु खाएर घर जाने गरेका गुरूङले त्यहाँको फलफूल घरमा लैजान नहुने धार्मिक विश्वास रहेको बताउनुभयो । धामीझाँक्री र लामाले आफूभित्र रहेको शक्तिलाई पुष्टि गर्न गाउँबाट खाली खुट्टा कठोर यात्रा गरी मन्दिरमा पूजाआजा र बली दिएर गाउँलेसमक्ष आफ्नो शक्ति प्रर्दशन समेत गर्ने गरेको बूढापाका बताउँछन् ।

पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न सजिलो हुने बाटो भत्किएपछि अहिले जोखिमपूर्ण यात्रा गरेर तालमा पुग्नुपर्ने स्थानीयवासी नन्दप्रसाद रोका बताउनुहुन्छ । ताललाई जोगाउन सरकारी निकायमा पहल गरिएपनि कुनैपनि सहयोग नभएपछि स्थानीय बासिन्दाको प्रयासमा थालिएका अभियान पर्याप्त नभएको रोकाको भनाइ छ ।

तालको अवलोकन गर्न पुगेकाहरूले प्रचारप्रसार गरेकै आधारमा वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थी र आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पक्की पदमार्ग र पहाडबाट तालसम्म पुग्ने गोरेटो बाटो बनाइनुपर्ने स्थानीयवासीको माग छ ।

जंगलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन् । जंगलमा रहेको नियालो खान आउने वन्यजन्तुसँग धेरैपटक स्थानीयवासीको जम्काभेट समेत भएको छ । स्थानीयवासीले नियालोलाई डोरी बनाएर तालसम्म पुग्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अस्तित्व संकटमा पारिदिएको छ ।

मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरसम्म पुग्न नसक्ने भक्तजनलाई लक्ष्य गरी भाले बास्ने ताल जाने बाटोमा मन्दिर समेत बनाइएको छ । तालमा छिमेकी मंगला गाउँपालिका–२ खार्तुङखोला र दरुङ गाउँबाट समेत जान सकिन्छ । दुवै गाउँबाट भिरबाट जोखिम मोलेर आवतजावत गर्नुपर्छ । हरेक वर्ष फागुनदेखि जेठसम्म विद्यालयको शैक्षिक भ्रमण तथा विदामा मानिस यहाँ पुग्ने गर्छन् । गाउँपालिकाको पहिचानका रूपमा ताललाई चिनाउनु पर्नेमा स्थानीय बासिन्दाको जोड रहेको छ ।

आगामी आर्थिक वर्षमा तालको संरक्षण तथा पूर्वाधार विस्तारमा वडाले गाउँपालिकासँग बजेट माग गर्ने तयारी गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको गाउँ समेत रहेको तल्लो दुखुका स्थानीयवासीले पूर्वाधार विस्तारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । गाउँपालिकाले समेत भाले बास्ने तालको पहिचानलाई जोगाउन तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न ताल नजिक भाले आकारको मूर्ति समेत राख्ने योजना बनाएको छ ।

भाले बास्ने तालको इतिहास

गाउँका ९ भाइ लाहुरेमध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिक दरबार जस्तै घरमा रात बिताए र बिहान ढुंगामा सुतेको अवस्थामा उनी भेटिए भन्ने किंवदन्ति रहेको छ । प्राकृतिक सौन्दर्यले भरिएको तालनजिक आफ्नो भाकलअनुसार पूजाआजा गर्न गएका लाहुरे र भरिया भागेर आएपछि तालको प्रचारप्रसार गरेकै आधारमा तालको नामकरण गरिएको बताइन्छ । लाहुरेले तालबाट फर्किएपछि लामो समयसम्म बली लिएर पूजा गर्ने गरेको भनाइसमेत छ ।

मन्दिर आसपासका रहेका रुखको बिरुवा लिएर छिमेकी मंगला गाउँपालिका–५ अर्मनमा लगाइएको अवस्थामा भेटिएपछि करिव एकसय वर्ष अगाडिसम्म नियमित पूजाआजासहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ उद्धृत गर्दै वडाध्यक्ष सन्तनाथ जैशी ‘सन्तोष’ बताउनुभयो । यहाँ सेनामा भर्ती हुन चाहनेले भाकल गर्छन् र बली समेत दिन्छन् ।

बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्तर्गत पर्ने सहस्रधारा, दुखुबेसी, दरुङ गाउँबाट यो ताल पुग्न सकिन्छ । बेनीबाट करिव दुईघण्टा सवारीसाधनमा सहस्रधारा पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय युवाको पहलमा निर्मित बाटोबाट तालसम्म पुग्न सकिन्छ । नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेसी त्यहाँ पुग्ने छोटो दूरीको मार्ग रहेको पत्रकार हरिकृष्ण गौतम बताउनुहुन्छ ।

तालमा पुग्ने मार्गमा संकेत चिन्ह नभए पनि ताल जाने सामान्य जानकारी भेट्न सकिन्छ । भाले बास्ने ताल र मालिका लगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यू मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियोबाट समेत प्रचारप्रसार गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी