बेइजिङमा राजा महेन्द्रलाई ढाडस दिदै माओले भने, ‘हामी तपाईहरुको भलो चाहन्छौं’(हेर्नुहोस पुरा संबाद)

बेइजिङमा राजा महेन्द्रलाई ढाडस दिदै माओले भने, ‘हामी तपाईहरुको भलो चाहन्छौं’(हेर्नुहोस पुरा संबाद)

  • शनिबार, जेष्ठ २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले मार्च १९६० मा चीन भ्रमण गरेका थिए। त्यसबेला उनले चिनियाँ नेता माओत्सेतुङ र तत्कालीन प्रधानमन्त्री चाउ एन लाइसँग भेटवार्ता गरी खासगरी सिमा विवाद सुल्झाउने प्रयास गरे। त्यसबेला बिपी र माओबीच भएको वार्ताको पूर्ण पाठ सुखद शुक्रबारको अघिल्लो अंकमा प्रकाशित भैसकेको छ। बिपी चीनबाट फर्केको नौ महिनापछि, डिसेम्बर १९६० मा राजा महेन्द्रले उनलाई अपदस्त गरी शासन हाफ्नो हातमा लिए। त्यसपछि नेपाल र चीनबीच भएका वार्ताहरू सिमा विवाद समाधान गर्ने निष्कर्षमा पुग्यो र राजा महेन्द्र चीन भ्रमणमा गए। बिपीले भेटवार्ता गरेको डेढ वर्षपछि नै राजा महेन्द्रले माओसँग भेटवार्ता गरे, ५ अक्टोबर १९६१ मा।

महेन्द्रको यही राजकीय भ्रमणको बेला नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धि भयो र तिब्बतको ल्हासाबाट तातोपानी जोड्ने सडकमार्ग निर्माण गर्ने ऐतिहासिक सहमती भयो। पढ्नोस्, चीनको परराष्ट्र मन्त्रालयले आफ्नो पुस्तक ‘माओत्सेतुङ अन डिप्लोमेसी’ मा प्रकाशित गरेको राजा महेन्द्र र माओबीचको त्यो दुर्लभ वार्तालार्इ नेपालखबर अनलाइनले  प्रकाशित गरेकाे छ । साेकाे पूर्ण पाठः

000

अध्यक्ष माओत्सेतुङ: महामहिम, अहिले के हुँदैछ? सबै समस्या समाधान भयो?

राजा : सबै कुरा मिल्यो।

माओः सबैकुरा निष्पक्ष र तर्कसंगत भयो नि?

महेन्द्रः भयो। हामी सबै सहमत भयौँ।

माओः हामी यसरी सहमत हुनु राम्रो कुरा हो। दुवै पक्षमा हार्दिकता छ। हामी तपाईंहरुको भलो चाहन्छौँ, आशा छ, तपाईंहरु पनि हाम्रो भलो चाहनुहुन्छ। न हामी तपाईंहरुलाई नोक्सान पुर्‍याउन चाहन्छौँ, न तपाईंहरु नै हाम्रो नोक्सान चाहनुहुन्छ।

महेन्द्रः हामी पूर्णतः यो कुरा बुझ्छौँ।

माओः हामी समान छौँ। हामी एक देशको तुलनामा अर्को देशलाई उच्च वा निम्न भन्न सक्दैनौँ।

महेन्द्रः कुरा गर्ने यो तरिकाको हामी अत्यन्त सराहना गर्छौँ।

माओः एउटा देशले अर्को देशलाई असमान तरिकाले व्यवहार गर्नु हुँदैन। हामी यसलाई ठूलो देशको अन्धराष्ट्रवाद भन्छौँ। अन्धराष्ट्रवादको गल्ती नगर्न हामी हाम्रो पार्टी सदस्यलाई सिकाउँछौँ। तैपनि एउटा कार्यकर्ताले अर्कोलाई उच्चताभाषको रवैयाले व्यवहार गर्नेजस्तो समस्या कहिलेकाहीँ हुनेगर्छ। उनीहरुको कमजोरी हटाउन हामीले उनीहरुमाझ शैक्षिक कार्यक्रम चलाएका छौँ र अनुशासनसम्बन्धी नियम राखेका छौँ। हाम्रो देश पुरानो र नयाँ, पछौटे र अग्रगामी सबै खाले कुराहरुको मिश्रण हो।

महेन्द्रः चीन अत्यन्त विशाल देश हो।

माओः पछौटेपनको थुप्रै चिन्ह अझै भेट्न सकिन्छ। उदाहरणका लागि कृषिलाई लिऊँ न। यो एकदमै पिछडिएको क्षेत्र हो। ट्रयाक्टरको संख्या एकदमै कम छ। यसको यान्त्रिकीकरण गर्न अझै केही वर्ष लाग्छ। हस्तकला त मुख्य नै भयो। हामीकहाँ बल्ल अलिअलि आधुनिक उद्योग खुल्न थालेको छ। तर धेरै छैन। १२ वर्षअघिको पुरानो समाजले हामीलाई एकदमै कम कुरा छोडेको थियो। वास्तवमा साम्राज्यवादले एक सय वर्षभन्दा बढी हामीलाई शोषण गर्‍यो। यसले यहाँ केही नबनाइ हरेक चीज लिएर गयो। उदाहरणका लागि फलाम र स्टिललाई लिन सकिन्छ। चिङ वंशदेखि च्याङ काइ सेकको पराजयको अवधिसम्म च्याङको क्षेत्रमा स्टिलको वार्षिक उत्पादन जम्माजम्मी ४० हजार टन भयो।

हामीसँग फलाम र स्टिल छँदैथिएन भन्ने अवस्था छ। न हामीसँग मेसिन निर्माण गर्ने उद्योग थियो, न कुनै भूगर्भिक काम भएको थियो। त्यसबेला हामीसँग भूगर्भका बारेमा काम गर्ने मात्र २ सय मानिस थिए। अहिले हामीसँग एक लाखभन्दा बढी त्यस्ता मानिस छन्। खनिज सम्पदाको खोजी गर्न सजिलो छैन। त्यसैले अहिले हामीसँग कुनकुन खनिज छ, त्यो पनि थाहा छैन। हामीले एक, दुई, तीन किलोमिटर र त्यो भन्दा गहिरो खाडल खन्नुपर्ने छ। यो हाते मेसिनबाट सम्भव छैन। यसका लागि ड्रिलिङ मेसिन र तालिमप्राप्त प्राविधिक चाहिन्छ। तेल पनि यसरी नै निकाल्नुपर्छ, अन्याथा हामीले आयातित तेलमा भर पर्नुपर्ने हुन्छ। कोइला, फलाम र अरु धातुहरुको कुरा पनि उही हो। त्यसैले खाद्यान्न र कपडाको समस्या हल गर्न हामीले कृषि र पशुपालनको विकास गर्नुपर्ने छ। सँगसँगै ठूला उद्योग पनि खोल्नुपर्नेछ। ठूला उद्योगबिना स्टिल र कुनै मेसिन बन्नेछैन। यसरी चल्दैन। तपाईंको देशको क्षेत्र पनि ठूलो छ।

महेन्द्रः करिब १ लाख ४० हजार वर्गकिलोमिटर।

माओः अनि जनसंख्या पनि कम छैन।

महेन्द्रः करिब ९० लाख।

माओः अष्ट्रेलियाभन्दा धेरै। मलाई आशा छ, तपाईंहरुले निर्माणको क्षेत्रमा राम्रो काम गर्नुहुनेछ र दिनदिनै धनी र बलियो बन्दै जानुहुनेछ।

महेन्द्रः हामी हाम्रो विकासका लागि प्रयत्न गरिरहेका छौँ र चीनजस्ता मित्रराष्ट्रबाट सहयोग मागिरहेका छौँ। मेरो यो भ्रमणमा प्रधानमन्त्री चाउ एन लाइसँग कुरा हुने आशा छ।

माओः राम्रो। अर्को पटक पनि कुरा गर्नुहोस्। समयसँगै तपाईंको देशले पनि प्रगति गर्नेछ। संसारका हरेक कुरा थोरैबाट धेरैतर्फ विकसित हुन्छन्। तपाईं आशावादी हुनुहुन्छ। तपाईंको भविष्य उज्जवल छ। तर यसका लागि समय लाग्छ। केही दशकभित्र तपाईं अझ आशावादी बन्नुहुनेछ। अझै पनि हाम्रो देश गरिब नै छ। तै पनि केही दशकभित्र हामीले निकै राम्रो गर्नेछौँ। मार्सल मोन्टगोमरीले यसका लागि ५० वर्ष लाग्छ भनेका छन्। मैले ५० देखि १०० वर्ष लाग्छ भनेको छु। एक शताब्दी भनेको लामो समय होइन। युरोप र अमेरिकालाई आजको तहमा विकसित हुन केही युग नै लाग्यो। तिनलाई पछि पार्न चीनलाई एक शताब्दी लाग्यो भने पनि त्यो राम्रो कुरा हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी