विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

–नारायण अधिकारी /चितवन, १३ जेठ।

कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् ।
नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई कृषि स्नातक पढाउने गर्छ तर ती विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा कृषि पढ्नका लागि आवेदन दिनेहरुको संख्या ११ हजार हाराहारी हुने गरेको छ ।

प्रवेश परीक्षा उत्तीर्ण भएर पनि उनीहरुले कृषि शिक्षा पढ्न पाउँदैनन् । त्रिभुवन विश्वविद्यालयले ४०० कृषि तथा वन विज्ञान विश्वविद्यालयले ३६५ र पूर्वाञ्चल विश्वविद्यालयले २४० विद्यार्थीलाई वार्षिक रुपमा कृषि विषय पढाउँदै आएका छन् ।

हाल तीनवटै विश्वविद्यालयमा गरी १४८ जनाले स्नातक भेटेनरी र १६ जनाले मत्स्यविज्ञान (फिसरिज) पढ्दै आएका छन् । यी दुई संकायमा पनि पढ्न चाहनेको संख्या निकै बढी भए पनि न्यून संख्याले मात्रै पढ्ने अवसर पाउने गरेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार यस विश्वविद्यालयको रामपुरमा १६५, कास्कीको पुरनचौरमा ५०, धनकुटाको पाख्रिबासमा ५०, सिन्धुलीको दुधौलीमा ५० र कैलालीको टीकापुरमा ५० गरी ३६५ विद्यार्थीलाई कृषिमा स्नातकको शिक्षा दिइँदै आएको छ भने भेटेनरीमा ५० र मत्स्य विज्ञानमा १६ जनालाई रामपुरमा पढाइँदै आएको छ ।

उहाँका अनुसार कृषि स्नातकमा चार हजार र भेटनरीमा दुई हजार २०० जनाको आवेदन गत शैक्षिकसत्रमा परेको थियो । कृषि शिक्षा पढ्न चाहने विद्यार्थीको संख्या अत्यधिक भएकाले थप १० आंगिक क्याम्पस र थप १० निजी क्याम्पसलाई सम्बन्धन दिने तयारीमा आफूहरू लागेको उहाँले बताउनुभयो । अहिले पढिरहेका विद्यार्थी संख्या चारदेखि पाँच गुणा थप्नु पर्ने उपकुलपति ढकालको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयको कृषि संकायका डिन केशव अधिकारीका अनुसार सो विश्वविद्यालयले कृषि स्नातकमा लम्जुङको सुन्दरबजारमा १००, कपिलवस्तुको पक्लिहवामा ५०, चितवनको खैरहनीमा ५०, झापामा ५०, दाङमा १०० र बैतडीमा ५० जना गरी ४०० विद्यार्थीलाई पढाउँदै आएको छ । पक्लिहवामा ५० जनाका लागि भेटनेरी स्नातकको पढाइ हुँदै आएको छ ।

उक्त विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाले कृषि शिक्षामा सरकारले लगानी गर्न नसक्दा विद्यार्थीले चाहेर पनि पढ्न नपाएको बताउनुभयो । उहाँले कृषि प्रधान देशमा सरकारी लगानी कृषि शिक्षामा हुन सके कृषिको व्यवसायीकरण गरी उत्पादन बढाउन सकिन्छ भन्नुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरेले ६५ प्रतिशत किसान भएको नेपालमा कृषिले अर्थतन्त्रमा एक तिहाइ हिस्सा ओगटेको भन्दै अब कृषि शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिनुभयो ।

हाल विश्वमा रहेका सात अर्ब जनसंख्या सन् २०५० सम्ममा पुग्दा १० अर्ब पुग्ने भन्दै उहाँले जमिन नबढ्ने जनसंख्या बढ्ने हुँदा उत्पादनलाई आधुनिकीकरणतर्फ नलगे मानिसलाई खाद्यान्न पु¥याउन नसक्ने भएकाले कृषि शिक्षाको महत्व अझै बढ्दै जाने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी