आँपका चिचिला झारेपछि किसान चिन्तित

आँपका चिचिला झारेपछि किसान चिन्तित

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

बर्दिवास, ९ वैशाख ।
आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिला) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलफूल किसानको खुशी यसपालि पनि टिक्न सकेन । गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलपूmलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो ।

“आँपका बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ राम्रै आर्जन हुने आश थियो”, जिल्लाको गौशाला नगरपालिका बटौवाका किसान लक्ष्मीप्रसाद सिंहले भन्नुभयो, “के गर्नु ? सबै आफ्नो वसमा हुँदो रैनछ, हुरीबतासले टिकोला सोत्तर बनाइदियो, राम्रो आर्जनको सबै आश तुहियो ।”

यसपालि शुरुमै आँपमा राम्रो मज्जर (मञ्जरी) खेले पनि चैतको कडा धूपका बेला मधुवा (आँपको पूmल डढाउने रोग) ले हैरान भएर बचेका टिकोला पछिल्लो हुरीबतासले झारेपछि बोट नाङ्गो देखिन लागेको सम्बद्ध किसानको गुनासो छ । हुरीबतासले टिकोला झारेपछि अब आँपबाट आम्दानी लिने कुरो तुहिएको मात्र नभई घरमा खान पनि नपाइने स्थिति बनेको जिल्लाकै भङ्गाहा–४ का किसान हरिदेव साहको भनाइ थियो ।

जिल्लामा बर्दिवास नगरपालिकाको १० र ११ नं वडाको खयरमारा, वडा नं ५को चेरु, टुटेश्वर र गणन्ता, वडा नं ४को माईस्थान बस्ती व्यावसायिक आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । त्यसैगरी बर्दिवासकै वडा नं ९को पशुपतिनगर र १२÷१३ को बिजलपुराका साथै भङ्गाहा–४ रामनगर एवं गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिँया, बटौवा, पडरिया र कान्छीबजार फलफूल खेतीका लागि कहलिएका ठाउँ हुन् । गत मङ्गलबारको हुरीबतासले गौशालाको बटुवा, लक्ष्मीनियाँ, भरतपुर, बेलगाछी, बर्दिवास नगरपालिकाको बिजलपुरा र पशुपतिनगर एवं भङ्गाहा नगरपालिकाको रामनगरमा बढी क्षति गरेको छ ।

हुरीबतासले आँपका टिकोला झारेपछि बोट नाङ्गा देखिएका र कैयौँ बोट जरैदेखि उखेलिएका पशुपतिनगरका फलपूmल किसान सुरजसिंह कुशवाहाले बताउनुभयो । आफ्नो बारीका ६० रुख आँपमध्ये १५ वटा रुख जरैदेखि उखेलिएका र ३० भन्दा बढी रुखका टिकोला ८० प्रतिशतभन्दा बढी झरेका उहाँको भनाइ थियो ।

जिल्लामा पछिल्ला केही वर्षयता फलपूmल खेतीमा किसानको आकर्षण बढ्दै गए पनि सिँचाइको समुचित प्रबन्ध नहुँदा विभिन्न रोगको प्रकोप र प्राकृतिक प्रकोपले अपेक्षित उत्पादन भने लिन नसकिएको पीडित किसानले बताए । जिल्लामा अहिले करीब तीन हजार हेक्टरमा पुरानो बगैँचा र यसैवर्ष ५०० हेक्टरको हाराहारीमा आँप, लिची र केरा खेती थपिएको जिल्लाका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश बिराजीले जानकारी दिनुभयो ।

आँपमा लाग्ने मधुवासहितका रोगको पूर्वरोकथाम उपचार र उपचार हुने भए पनि हुरीबताससहितका प्राकृतिक प्रकोप भने आम किसानको वसमा हुँदैन । तर बोटमा मज्जर लाग्नुपूर्व नै जरामा खनजोत र सिँचाइ, कीटनाशक उपचार र प्रत्येक बोटमा चुन दल्न सके त्यस्ता बोटका फलको भेट्नु दह्रो हुने भएकाले कम क्षति हुने कृषि विज्ञको सुझाव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी