गैँडा मर्ने क्रम बढेपछि अनुसन्धान गरिँदै

गैँडा मर्ने क्रम बढेपछि अनुसन्धान गरिँदै

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

नारायण अधिकारी
चितवन, ९ वैशाख । गैंँडा मर्ने क्रम बढेपछि निकुञ्ज विभागले यसबारे अनुसन्धान गर्न थालेको छ । सन् १९९८ यता चितवन राष्ट्रिय निकुञ्जमा अकालमा २६९ वटा गैंँडा मरेकामा पछिल्ला वर्षमा यो संख्या बढ्दै गएपछि अध्ययन शुरु गरिएको हो ।

निकुञ्ज कार्यालयको तथ्यांक अनुसार सन् २०१४ मा ८ वटा, २०१५ मा १५ वटा, २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा मरेका छन् । यससँगै विभागले अध्ययनका लागि पर्यावरणविद् लक्ष्मण पौडेलको संयोजकत्वमा गठन गरेको समितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डा नरेश सुवेदी, विश्व वन्यजन्तु कोषका डा कञ्चन थापा, जुलोजिकल सोसाइटी अफ लण्डनका डा भगवान दाहाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल र निकुञ्जका डा कमल गैरे सदस्य हुनुहुन्छ । टोलीले निकुञ्जमा मरेका गैँंडाको तथ्यांक, यसपछि गरिएका परीक्षण प्रतिवेदन, घाँसे मैदान, बासस्थान, पानीका स्रोतलगायतबारे जानकारी लिएको छ ।

समितिका संयोजक पौडेलका अनुसार निकुञ्जका प्राविधिकसँग पनि जानकारी लिइएको र निकुञ्जमा देखिएका तथा संकलन गरिएका तथ्यांकलाई केलाएर प्रारम्भिक प्रतिवेदन यसैसाता विभागलाई दिने बताउनुभयो । मृत्यु भएका गैँडाका नमूनाको सामान्य परीक्षण नेपालमै हुने तर थप परीक्षण गर्नुपरे बाहिर पठाइने उहाँले बताउनुभयो ।

गैँडाको संख्या थपिँदै जाँदा वासस्थानको व्यवस्थापन कमजोर हुने, रोग लाग्नसक्ने हुँदा समयमै सजगता अपनाउन अध्ययन थालिएको हो भन्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको जानकारी दिनुभयो । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैँडा मर्ने गरेका छन् ।

पानीका स्रोत घट्दै जानु, माइकेनिया लगायतका अतिक्रमित झारका कारण घाँसे मैदान साँघुरिँदै जानु, रोगव्याधी लाग्नसक्ने हुँदा समयमै उच्च सतर्कता अपनाउनुपर्ने भएको जानकारी दिंदै उहाँले गतवर्ष मरेका गैँडामध्ये चार वटामा रोग देखिएको तर रोगको बारेमा विस्तृत जानकारी आइनसकेको बताउनुभयो ।

यसअघि कालगतिकै कारण सन् २००० मा २८ वटा, सन् १९९९ मा १९ वटा र सन् २००३ मा १७ वटा गैँडा मरेका थिए । सन् २०११ मा १६ वटा गैँडा मरेका थिए भने अन्य वर्षमा सात वटादेखि १४ वटासम्म गैँडा मरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यही बीस वर्षमा चोरी शिकारीका कारण १७४ गैँडा मारिएका थिए । सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा चोरीशिकारीका कारण मारिएका थिए ।

पछिल्ला वर्षमा चोरी शिकारीका कारण कम गैँडा मरेका छन् । सन् २०११ यता पाँच गैँडा मात्रै चोरीशिकारीले मारेका थिए । चोरी शिकारी नियन्त्रण हुँदै जाँदा पनि गैँडा मर्ने क्रम बढेपछि चिन्ता थपिएको हो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी