काठमाडौ ११ चैत्र ।
अदालतको आदेशपछि अखिल नेपाल फुटवल संघ एन्फाको आगामी बुधबारका लागि तय भएको साधारण सभा र निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले आज विज्ञप्ति जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी गराएको हो ।
पाटन उच्च अदालतले मकवानपुर जिल्ला फुटवल संघका बरिष्ठ उपाध्यक्ष मणिष श्रेष्ठ र भक्तपुर जिल्ला फुटवल संघका गौतम सुजखुले दिएको रिटमा यसअघि दिएको अन्तरिम आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरिएको जनाएको छ ।
उच्च अदालत पाटनले गत बिहीबार निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन समितिले नयाँ निर्वाचन तालिकाका बारेमा भने केही उल्लेख गरेको छैन ।
त्यस्तै एन्फाले गत शुक्रबार पठाएको विवरणका आधारमा निर्वाचन स्थगित गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक सुमन केसी र सहसंयोजक लक्ष्मण थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एन्फाले फुटवलको सर्वोच्च प्रशासनिक निकाय फिफा र एएफसीलाई पठाएको पत्रका बारेमा भने विज्ञप्तिमा केही उल्लेख गरेको छैन । फिफाले तोकिएको समयमै निर्वाचन नगरे कारबाही गर्ने चेतावनी सहितको पत्र एन्फालाई पठाइसकेको छ ।