काठमाडौँ, ७ फागुन ।
जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।
घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् ।
यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् ।
नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङ्कङसँग खेल्ने छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् ।
यसैबीच , वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली क्रिकेट टोलीका प्रत्येक सदस्यले चार लाख रुपैयाँ पाउने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज टिम नेपालका प्रत्येक सदस्यलाई तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। त्यसैगरी मदन भण्डारी स्पोर्टस एकेडेमीले सबैलाई थप एक लाख रुपैयाँ दिने घोषणा पनि आजै भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट टोलीलाई सम्मान गर्न आयोजित कार्यक्रममा यस्तो घोषणा भएको हो। पुरस्कार रकम शनिबार दिने र त्यही दिन प्रतियोगिताका लागि विदाइ गर्ने कार्यक्रम छ।