काठमाडौं, फागुन ३ ।नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टु को उपाधीका लागि नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । राउण्ड रोबिन लिगका ५ मध्ये ४ जित र १ हार सहित नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने ३ खेलमा जित हात पार्दै दोस्रो स्थानमा रहेर युएईले पनि उपाधी यात्रा तय गरेको थियो ।
हिजो भएको सनसनीपुर्ण खेलमा क्यानडालाई १ विकेटले हराउँदै नेपालले विश्वकप छनोटको यात्रा तय गरेको थियो । जिम्बाबेमा फागुन २० गतेदेखि हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा आईसीसी वरियतामा पुछारमा रहेका ४ टोली, विश्व क्रिकेट लिग डिभिजनका शीर्ष चार टोली तथा डिभिजन–टु बाट नेपाल र युएई गरी १० राष्ट्र सहभागी छन् । सहभागी राष्ट्रलाई दुई समुहमा विभाजन गरिएको छ ।
नेपाल र युएइबीचको विजेता बेष्ट ईण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवान्यूगिनी रहेको समुह ए मा रहनेछ। उपविजेता टोली जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेको समुहमा पर्नेछ । उपाधी भिडन्त विन्डोकस्थित वान्डर्रस क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।
सोही समयमा तेस्रो स्थानका लागि आयोजक नामिबिया र क्यानडा तथा पाँचौ स्थानका लागि केन्या र ओमानबिच पनि प्रतिस्पर्धा हुनेछ ।