सन्दीप लामिछानेले आइपिएलमा खेल्ने, दिल्लीले २० लाख भारुमा किन्यो: को हुन सन्दीप ?

सन्दीप लामिछानेले आइपिएलमा खेल्ने, दिल्लीले २० लाख भारुमा किन्यो: को हुन सन्दीप ?

  • आइतवार, माघ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ ,माघ १४ ।

युवा स्पीनर सन्दिप लामिछाने ईण्डियन प्रेमियर लिग क्रिकेट आईपीएलमा अनुबन्धित भएका छन् ।

आज भएको खेलाडी अक्सनमा दिल्ली डेयर डेभिल्सले लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । दिल्लीले अनुबन्धित गरेसँगै सन्दिप हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

अक्सनको दोस्रो दिन उनीमाथि दिल्लीले बोली लगाएको हो । अक्सनमा समावेश ५ सय ७८ खेलाडी मध्ये सन्दिप २ सय ७६ औं नम्बरमा थिए ।

उनको शुरुवाती बोली नै २० लाख भारु अर्थात् ३२ लाख नेपाली रुपैयाँ थियो ।

दिल्लीको अफिसियल ट्वीटर ह्याण्डलबाट सन्दिप लामिछानेलाई टीममा भित्राउन पाएकोमा खुशी व्यक्त गर्दै ट्वीट गरिएको छ ।
ट्वीटमा १७ वर्षीय नेपाली लेग स्पीनरलाई टीममा सामेल गर्न पाएकोमा सन्तोष व्यक्त गरिएको छ ।

सन्दिपलाई अब अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले प्रशिक्षण दिनेछन् । गौतम गाम्भीर, ग्लेन म्याक्सवेल, कोलिन मुन्रो र कागिसो राबाडाजस्ता चर्चित खेलाडीसँगै सन्दिप दिल्लीमा अटाएका हुन् ।

यसअघि अर्का स्पीनर शक्ति गौचनले आईपीएलमा ट्रायल दिए पनि सफल भएका थिएनन् । शक्तिलाई राजस्थान रोयल्सका लागि ट्रायल दिएका थिए ।

को हुन सन्दीप लामिछाने ?

दुई वर्षअघि यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्डविरुद्ध ह्याट्रिक गरेपछि नेपाली किशोर लेग स्पिनर सन्दीप लामिछानेको चर्चा विश्वव्यापी बन्यो । एशोसियट टोलीबाट सम्भावना बोकेका खेलाडीको उदयका रुपमा अन्तर्राष्ट्रिय मिडियाले सन्दीपलाई अष्ट्रेलियाली महान क्रिकेटर सेव वार्नसँग तुलना पनि गरे । त्यसयता राष्ट्रिय टिमबाट खेल्दै आएका १७ वर्षीय लामिछानेको करिअरमा अर्को कोशेढुंगा बनेको छ, आईपिएपलमा ‘इन्ट्री’ ।

बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगिताको अक्सनमा समावेश भएपनि बोली नलागेका सन्दीपलाई विश्वकै ‘ठूलो’ डोमेस्टिक क्रिकेट लिगको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्सले २० लाख भारु मूल्यमा आफ्नो बनाएको छ । उनको बेस मूल्य नै २० लाख थियो ।

सन्दीप आईपिएलको अक्सनमा परेर नेपाली खेलाडीहरुमा इतिहास बनाइसकेका थिए, झन् अनुबन्धित नै भएपछि त नेपालमा क्रिकेट प्रेमीहरु हर्षविभोर छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दाशानायकेले १४ वर्षको उमेरमै चितवनबाट ‘टपक्क टिपेर’ ल्याएका सन्दीपले त्यसयता उमेरसमूहको क्रिकेटमा मात्र होइन राष्ट्रिय टिमबाट र घरेलु क्रिकेटमा समेत आफूलाई अब्बल प्रमाणित गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

नवलपरासीमा स्कुल पढ्दापढ्दै प्रशिक्षक राजु खड्काको समन्वयमा नारायणगढको क्याम्पाचौरमा भएको ट्यालेन्ट हण्टबाट छानेर पुबुदुले सन्दीपलाई काठमाडौं ल्याएका थिए । भारतीय रेल्वेमा कार्यरत पितासँगै भारतमै हुर्केका सन्दिपले ब्याट र बल समाउन उतै सिकेका थिए ।

अध्ययनका लागि नवलपरासीमा आएसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । सन् २०१६ मा बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप क्रिकेटमा डेब्यू गरेका सन्दीपको सिनियर टोलीबाट पहिलो खेल भने नामिविया विरुद्ध थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिविया विरुद्धको सन् २०१६ को सेप्टेम्बरमा उनले डेब्यू गरेका थिए ।

अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्व कप्तान माइकल क्लार्कसमेत सन्दीपको बलिङ शैलीको फ्यान छन् । क्लार्ककै निमन्त्रणामा सन्दीपले अष्ट्रेलियामा स्थानीय लिग खेल्ने अवसर पाएका थिए । त्यस्तै हङकङमा भएको प्रतियोगितामा उनी क्लार्कसँग एउटै टिमबाट खेलेका थिए ।

सन्दीप आईपीएल अक्सनमा छनोट भएपछि बधाई दिँदै ट्वीट गरेका थिए । उनले आईपिएलको टिममा अधिकारसम्पन्न ठाउँमा भएको भए उनलाई अनुबन्ध गर्नेसमेत बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ