काठमाडौं, पुस २७ ।
राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जित हासिल गरेको छ ।
सुपरलिग अन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफले आफनो जित निकालेको हो । यो जितसँगै एपीएफले २ लाख पुरस्कार पाएको छ । एपिएफका लागि सावित्रा भण्डारीले दुई तथा सरु लिम्बूले एक गोल गरिन् ।
सुपरलिगमा भएका तीन खेलमध्ये सबै खेल जितेको एपीएफले ९ अंक जोड्दै उपाधि जितेको हो ।
यस्तै सुपरलिगको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमलाई ७–० गोलले हराउँदै नेपाल आर्मी उपविजेता बनेको छ । आर्मीका लागि कृष्णा खत्री एक्लैले ५ गोल गरिन् भने शर्मिला थापा र विमला चौधरीले १–१ गोल गरे ।
उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै सुपरलिगको अन्तिम खेलमा एपिएफसँग पराजित भए पनि तेश्रो बनेको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।
उसले सुपरलिगमा एक खेल जितेको थियो । समूहचरणमा राम्रो प्रदर्शन गर्दै सुपरलिगमा पुगेको सुदूरपश्चिमले भने कुनै खेल जित्न सकेन । पुस १६ गतेबाट सुरु भएको भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो ।