खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अध्यक्ष दाहाललाई आग्रह

खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अध्यक्ष दाहाललाई आग्रह

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

 

काठमाडौँ, ६ पुस

अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान दिलाउने खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष खेलकुदसँग सम्बन्धित विभिन्न संघ तथा संगठनहरूले आग्रह गरेका छन् ।

अध्यक्ष दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलका रुपमा राखेर इतिहास कायम गरेको सन्दर्भ जोड्दै खेलकुद क्षेत्रका संघ संगठनले आगामी दिनमा खेलकुदलाई प्रभावकारीरुपमा कार्ययोजना बनाएर लागू गर्न आग्रह गरेको हो ।

अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, नेकपा (एमाले) निकटको नेपाल खेलकुद महासंघ र माओवादी केन्द्र निकटको अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिले राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने खेलकुदमा लगानी बढाउन र विशेष प्राथमिकता राखेर कार्ययोजना बनाउन ध्यानाकर्षण गराएका थिए ।

वाम गठबन्धनको सरकार निर्माण भएपछि मुलुकको खेलकुद क्षेत्रमा स्वर्णकाल आउने आशामा उनीहरुले विगतमा भएका सकारात्मक काम कारबाहीलाई संस्थागत गर्दै आगामी दिनमा थप प्रभावकारी कार्ययोजना ल्याउन अध्यक्ष दाहालसँग अनुरोध गरेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले जानकारी दिनुभयो ।

उनीहरुले आगामी दिनमा अझ गुणात्मक फड्को मार्ने लक्ष्य राख्न र राष्ट्रिय पहिचानको अभिवृद्धिका लागिसमेत सो क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

युवालाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा लगाउने माध्यम भनेकै खेलकुद भएकाले सरकार र सरकारी निकायले अरु क्षेत्रलाई भन्दा बढी ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो ।

एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउन खेलकुद क्षेत्रबाट सकारात्मक पहल हुने भन्दै उनीहरुले त्यसको शुरुवात्समेत यही क्षेत्रबाट हुन लागेको अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।

पूर्व उपप्रधानमन्त्री एवं अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज टोपबहादुर रायमाझीले नेपालको नाम विश्वमा फैलाउन सक्ने सहज माध्यम नै खेलकुद भएकाले यसलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विगतमा वाम नेतृत्वको सरकारले अगाडि बढाएका सकारात्मक कामलाई विस्तार गर्न र नयाँ कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व युवा तथा खेलकुद मन्त्री एवं नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले खेलकुद क्षेत्रमा रुची राख्ने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफूहरुले साथमा पाएकाले यस क्षेत्रको विकासमा प्रभावकारी काम हुने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न संघ संगठनको ध्यानाकर्षण सुनेपछि अध्यक्ष दाहालले खेलकुदको विकास र विस्तारका लागि अब बन्ने सरकारले विशेष कार्ययोजनाका साथ काम गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा खेलकुदका क्षेत्रमा राम्रा कामको शुरुवात् भएको, खेलाडीलाई राज्यका तर्फबाट सम्मान गर्ने संस्कृतिको विकास भएको छ । त्यसलाई आगामी दिनमा अझै विस्तार गर्दै लगिनेछ ।”

खेलकुदको विकासमा वामपन्थीको सरकार बन्दा ध्यान दिए जस्तो र काम पनि भए जस्तो देखिए पनि नौ–नौ महिनामा सरकार परिवर्तन हुँदा त्यसले प्राथमिकता पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा यस क्षेत्रमा स्वर्णकाल शुरु हुने बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि वाम गठबन्धन दुई तिहाइ बहुमत नजिक पुगेको र आउने दिनमा सरकारले व्यवस्थितरुपमा लगानी बढाउने उहाँले विश्वास दिलाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी