अमेरीकाको सपनाले फेसबुकबाट लभ पर्यो अनी बिहे तर …..

अमेरीकाको सपनाले फेसबुकबाट लभ पर्यो अनी बिहे तर …..

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो ।

कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो ।

अमेरिकी सेनासँग विवाह गरेपछि भविष्य सुखी होला भन्ने प्रलोभनमा परेकी ती युवती अहिले बिचल्लीमा परेकी छन् । त्यस्तै उनले दुई भाइको २१ लाख रुपैयाँ कहिल्यै फिर्ता नहुने भएको छ । ‘अमेरिकी आर्मी हुँ’ भन्दै जीवनसाथी बनाउने पात्र हुन् सिन्धुपाल्चोक माङ्खाका तुलबहादुर तामाङ । तामाङले फेसबुकमार्फत ती युवतीसँग परिचय बढाए । सात महिनाको भर्चुअल सम्बन्ध विवाहमा परिणत भयो ।

विवाहपछि उनका नातेदार राजेश र कैलाश गुरुङलाई अमेरिकी सेनामा जागिर लगाइदिने प्रस्ताव आएपछि उनीहरु सहमत भएर भिसा प्रक्रियाका लागि भन्दै तामाङलाई २१ लाख बुझाए । आइएमईमार्फत पैसा आएलगत्तै तामाङ श्रीमतीसँग पनि सम्पर्कविहीन भए । विदेश जाने प्रलोभन देखाएर आफू ठगिएको भन्दै पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि खोज्दै जाँदा तामाङ सिन्धुपाल्चोक माङ्खामै भेटिए र उनको ठगीको पर्दा खुल्यो ।

तामाङ पक्राउपछि उनले फेसबुकमार्फत चिनजान बढाएर धेरैलाई ठगी गरेको खुलेको छ । उनले जेभी नाममा फेसबुक अकाउन्ट बनाएर आफू अमेरिकामा रहेको बताउँदै धेरैलाई साथी बनाउने गरेका थिए । यसअघि पनि उनले सिन्धुपाल्चोककी एक महिलालाई अमेरिका लैजाने प्रलोभनमा पारेर नौ लाख लिएको अनुसन्धानमा खुलेको छ ।

महाशाखाका अनुसार क्यानडा जाने प्रलोभनमा पारेर तामाङले सञ्जय दोङ र सिम लामाको १३ लाख लिएर हिँडेको समेत देखिएको छ ।

अविश्वसनीय प्रस्तावमा लोभिँदा ठग्न सजिलो महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी लगानी र परिश्रम नै नगरीकन सजिलै पैसा कमाउन सकिने र युरोप–अमेरिका जान पाउने प्रलोभनमा पर्दा ठगिने गरेको देखिएको बताउँछन् । सामाजिक सञ्जालमा परिचय भएका व्यक्तिले भनेको पत्याउँदा अधिकांश व्यक्ति फस्ने गरेको उनले बताए । ‘अमेरिका लैजान्छु भनेर प्रस्ताव गर्नेको हैसियत के हो ? उसले भनेअनुसार सहजै अमेरिका जान सकिन्छ कि सकिँदैन केही सोच्दैनन्,’ लोहनीले भने, ‘सहजै विश्वास गरेर पैसा दिन्छन् अनि ठगिएको थाहा पाएपछि प्रहरीकहाँ उजुरी आउँछन् ।’ साउनमा फेसबुकमार्फत ५५ लाखरुपैयाँ ठगिएको भन्दै महाशाखामा आएको एउटा उजुरीको प्रकृति रोचक थियो ।

महाशाखामा परेको उजुरीअनुसार आफू बेलायती नागरिक हुँ भन्दै फेसबुकबाट आएको सूचनामा भरपर्दा दाङकी एक महिला ठगिएकी थिइन् । लमहीकी सुजाता केसी एक वर्षअगाडिदेखि इयुएन्स स्मिथ नामको फेसबुक प्रयोगकर्तासँग साथी थिइन् । स्मिथले आफू बेलायती नागरिक हुँ भन्थे । दुवैबीच च्याटमा कुराकानी बाक्लिँदै जान थाल्यो ।

केही समयपछि स्मिथले तुलसालाई भारतीय नम्बरबाट फोन गरे । स्मिथले तुलसाका नाममा बैंक अफ अमेरिकाको दिल्ली शाखामा १.७ मिलियन अमेरिकी डलर (१७ करोड रुपैयाँ) पठाएको भन्दै सो रकम नेपाल पठाउन करबापतको पैसा मागे ।

आफ्नो नाममा १७ करोड आएको भन्दै प्रलोभनमा परेर तुलसाले कहिले आइएमइमार्फत र कहिले उनले भनेअनुसारको खातामा पैसा जम्मा गर्न थालिन् । यसरी पटकपटक गरी तुलसाले ५५ लाख रुपैयाँ बुझाइन् तर उनको नाममा भनिएको रकम आएन । त्यस पछि उनले प्रहरीमा उजुरी दिइन् । उजुरीका आधारमा खोजी गर्दै जाँदा बेलायती नागरिक स्मिथ ४ जना निस्किए, ललितपुरका पुरन घर्तीमगर, सुमन लामा, रवि थोकर र दिनेश बस्नेत ।

विदेशीको नाममा फेसबुक अकाउन्ट खोलेर महँगो उपहार पठाइदिने प्रलोभनमा करबापतको रकम भन्दै ठगेको अभियोगमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले भदौमा आङलेमी शेर्पालाई पक्राउ गरेको थियो । उनले यसरी ४ जनाबाट ४३ लाख बढी ठगी गरेका थिए । महाशाखाको तथ्यांकअनुसार २०७३–२०७४ मा सामाजिक सञ्जालमार्फत ठगिएका ४ सय ५३ वटा उजुरी आएका थिए । प्रहरीले बुधबार सार्वजनिक गरेको घटनाको पीडक पुरुष भए पनि ठगीका अधिकांश घटनामा पक्राउ पर्नेमा महिला धेरै छन् ।

एसएसपी लोहनीका अनुसार सहजै युरोप–अमेरिका लैजाने, ठूलो मूल्य रहेको चिट्ठा परेको र महँगो सामान उपहार परेको प्रलोभन दिएर ठगी गर्ने गरेका घटना धेरै छन् । चिट्ठा र उपहार परेको भन्दै प्रलोभनमा पार्न फेसबुकभन्दा भाइबरको प्रयोग बढ्दो छ । युरोप–अमेरिकाको प्रस्ताव फेसबुकमै बढी आउने गरेको देखिन्छ ।

ठगीमा एकै शैली, सचेत हुन्नन् प्रयोगकर्ता प्रहरीमा आएको उजुरीका आधारमा ठगी धन्दामा संलग्नहरुले एउटै शैली अपनाउने गरेको देखिन्छ । प्रारम्भमा उनीहरुले नक्कली नाममा फेसबुकमा खाता खोलेर आफू अमेरिकालगायतका देशमा बस्ने गरेको परिचय राख्छन् र विभिन्न व्यक्तिलाई साथी बन्न अनुरोध पठाउँछन् । अनुरोध स्वीकार भएपछि बिस्तारै च्याट सुरु गर्छन् ।

च्याटका क्रममा बेरोजगार रहेको र विदेश जाने प्रयासमा रहेकाहरु भेटिएपछि उनीहरुले आफूले सहयोग गर्ने वचन दिन्छन् र भर्चुअल साथीलाई सहजै विश्वास गर्छन् । यस्तो धन्दामा लाग्नेहरु नेपालमै रहे पनि आफू विदेशमा रहेको बताउँछन् र नेपालमा आएका बेला भेट्ने बाचा गर्छन् । केहीले सम्बन्ध विस्तार गरेर पछि ठगी गर्छन् ।

त्यसको केही समयमै उनीहरुले आफू नेपाल आएको बताउँदै फेसबुकमा साथी बनेकासँग भेट गरेर सहजै विदेश जान सक्ने प्रलोभन दिन्छन् र विदेश जान चाहनेले पनि सहजै पैसा दिने गरेको देखिन्छ । पैसा पाएपछि ती व्यक्ति एकाएक सम्पर्कविहीन हुने गरेका छन् । फेसबुकमा साथी बनेकाहरूले महँगो फोन, आइप्याड, ल्यापटप पठाउने प्रलोभन दिएर पैसा मगाएरसमेत ठगी गर्ने गरेको घटना प्रहरीमा आउने गरेका छन् ।

‘ठगीकै लागि ३ वर्षदेखि दिदी बनाएर नियमित टीका लगाएर पछि उनका तीनजना आफन्तलाई अमेरिका पठाउँछु भन्दै पैसा लिएर भागेका घटनासमेत आएका छन्,’ एसएसपी लोहनीले भने, ‘यस्ता घटनाबाट जोगिन बारम्बार आग्रह गरे पनि ठगिने क्रम रोकिएको छैन ।’ नागरिक न्युज बाट साभार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी