एजेन्सी ,पुस १ । फ्रेन्च लिग वान फुटबलमा दोस्रो स्थानको मोनाकोले प्रभावशाली जित दर्ता गरेको छ ।
अवे मैदानमा गएराति भएको खेलमा मोनाकोले सेन्ट–इटिनलाई ४–० ले हराएर शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँगको अंक दूरी ६ मा झारेको छ ।
तेस्रो मिनेटमा जिब्रिल सिदिब तथा ३२ औं मिनेटमा थोमस लेमारले गोल गरेपछि पहिलो हाफमा मोनाकोले २–० को अग्रता लियो ।
५३ औं मिनेटमा फाबिन्होले गोल गर्दै मोनाकालाई ३–० को अग्रता दिलाए । त्यस लगतै गोलरक्षक स्टेफन रफियर लाइन्सम्यानसँगको झगडाका कारण रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेन्ट–इटिन १० खेलाडीमा सीमित भयो ।
गोलरक्षक बाहिरिएर समस्यामा परेको सेन्ट–इटिनले ६० औं मिनेटमा अर्को गोल खायो । मोनाकोका बाल्दे डिएगोले गोल गरे ।
जितपछि दोस्रो स्थानको मोनाकोको १८ खेलबाट ३८ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको पिएसजीको ४४ अंक छ ।