काठमाडौं, मंसिर १४ ।
इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएका खेलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको छ ।
म्यान सिटीका लागि केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गर्दा साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल फर्काए । गएराति नै चेल्सीले स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ । चेल्सीको जितमा एन्टोनियो रुडिगरले निर्णायक गोल गरेका हुन् ।
यस्तै आर्सनलले हडर्स्फिल्ड टाउनलाई ५–० ले हराएको छ । आर्सनलको जितमा ओलिभर जिरुले दुई, अलेक्जेण्डर लाकाजेट, अलेक्सिस सान्चेज र मेसुत ओजिलले एक÷ एक गोल गरेका हन् ।
लिग अन्तर्गतकै अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ३–० ले स्तब्ध बनाउदा मोहोमद सालाहले दुई तथा सादियो मानेले एक गोल गरे । गएरातिका अन्य खेलमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई ४–० ले हराउँदा बर्न्लेले बर्नमाउथ माथि २–१ को जित निकाल्यो ।
रातीका खेलपछि अंक तालिकामा १४ खेलबाट ४० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ३२ अंक छ भने २९ अंक जोडेको चेल्सी तेस्रो तथा २८ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेका छन् ।