काठमाडौं मंसिर ११ ।
ग्लोबल क्वालिफायरमा छनोट हुन नसकेको नेपाल थाइल्याण्डमा जारी आइसीसी वुमन्स टी–२० वर्ल्डकप क्वालिफायर एसियामा तेस्रो स्थान हात पार्न सफल भएको छ ।
तेस्रो स्थानको लागि आज विहान भएको प्लेअफमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो । नेपाल र हङकङबीच लिग चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।
बैंककस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि नेरी थापाले सर्वा्धिक ३८ रन बनाइन् ।
यस्तै कप्तान रुविना क्षेत्री १४ तथा करुणा भण्डारी १४ रनमा नटआउट रहे । ९५ रनको लक्ष्य पछ्याएको हङकङ एक बल अगावै ५८ रनमा अलआउट भयो । हङकङका लागि चान साउ हारले १३ तथा का यीन चानले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
हङकङलाई अलआउट गर्न नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिइन् भने सवनम राई, सीता राना मगर, नेरी थापा रितु कनौजियाले १–१ विकेट झारिन ।
एसियन जोनबाट आयोजक थाइल्याण्ड पहिले तथा युएई दोस्रो स्थानमा रहदै नेदरल्याण्ड्समा अर्को वर्ष हुने ग्लोबल क्वालिफायरमा छनोट भएका छन् । उपाधिका लागि यी दुई टोलीबीच आजै भिडन्त हुनेछ ।