झापा, मंसिर ९ ।
झापामा आज भएको दोस्रो दमक रन मिनी म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढा र नेपाल आर्मीका विश्वरुपा बुढाले जितेका छन् ।
१५ किलोमिटर रनमा पुरुषतर्फ दुर्गाबहादुरले ४४ मिनेट ०३ सेकेण्ड र महिलातर्फ विश्वरुपाले ५३ मिनेट ०३ सेकेण्डमा दूरी पार गर्दै प्रथम भएका हुन् ।
रनमा पुरुषतर्फ नेपाल आर्मीका कृष्ण बस्नेत द्वितीय तथा आर्मीकै लालबहादुर थापा तृतीय भए । उनीहरुले क्रमशस् ४४ मिनेट १२ सेकेण्ड र ४४ मिनेट ४७ सेकेण्डमा दूरी पार गरे । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै महिलातर्फ सशस्त्र प्रहरीकी कान्छीमाया कोजु द्वितीय र आर्मीकै सुनमाया बुढा तृतीय भइन् । उनीहरुले क्रमशः ५३ मिनेट ०५ सेकेण्ड र ५३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरे । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशस् नगद ४० हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।
पुरुषतर्फ प्रथम भएका बुढाले यो सातामात्र दुई स्थानमा प्रथम हुन सफल भएका हुन् । दमक रनले विभिन्न उमेर समूह अनुसार दौडको आयोजना गरेको थियो ।
७ देखि १२ बर्ष उमेर समूहतर्फ रोदन राई र लक्ष्मी भुजेल प्रथम, प्रसन राई र सम्झना राई द्वितीय तथा अनिश खड्का र दीया श्रेष्ठ तृतीय भए । उनीहरुले क्रमशस् नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
१३ देखि १६ बर्ष उमेर समूहको विधातर्फ सुनिल थापा र हुमी बुढामगर प्रथम, लक्ष्मण अधिकारी र मञ्जु राई द्वितीय तथा नन्दू राई र सिर्जना तृतीय भए ।
उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार जिते ।
३५ देखि ४५ बर्ष उमेर समूहको भेट्रान पुरुष तर्फको विधामा धर्म महर्जन प्रथम, दामोदर बुढामगर द्वितीय र श्याम राई तृतीय भए । उनीहरुले पनि क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए ।
४६ बर्षमाथिको सुपर भेट्रानमा निर्मल राई र रिता राई प्रथम, पूर्व राष्ट्रिय धावक बुद्धबीर लामा र मनमाया लिम्बू द्वितीय तथा मोहन कुमार सुब्बा र रिता लिम्बू तृतीय भए । उनीहरुले पनि समान क्रमशस् नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।
म्याराथनमा सबै विधामा गरी एक हजार ८ सय धावक सहभागी थिए । विजेताहरुलाई कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धबीर लामा, प्रशिक्षक रघु वन्तलगायतले पुरस्कृत गरेका थिए ।