काठमाडौं।
ललितपुर चन्दनपुरका विभिन्न चिया बगानमा संचारकर्मीहरुको औपचारीक अध्ययन अवलोकन भ्रमण २०७४ सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली चियाको बजार बढेसँगै चियाखेतीतर्फ किसानहरूको आकर्षण पनि बढ्दो छ । ललितपुरमा चिया बगानको स्थलगत अध्ययन अवलोकन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउनको लागि ललितपुर चन्दनपुरका विभिन्न चिया बगानमा संचारकर्मीहरुको औपचारीक अध्ययन अवलोकन भ्रमण २०७४ आयोजना गरीएको हो ।
विगत १० बर्षदेखी कृषिको पत्रकारीता गरीरहेका एग्रो टाइम्स मासिक पत्रिकाका प्रबन्ध निर्देशक अशिम सापकोटाको संयोजकत्वमा भएको यस औपचारीक भ्रमणमा नेपाल टेलिभिजनका देविराज गौली, रेडियो मिरमिरेका प्रशासन प्रमुख बासुदेव तिम्सिना, सौर्य दैनिक राष्ट्रिय दैनिकका केशव भट्ट, एग्रो टाइम्सबाटै दिपिका रीजाल यसैगरी धनेश्वर स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्य विज्ञ राजु बजगाँई र लोकदोहोरी गायक तथा हाँस्य कलाकार टंक डुम्रे रहेका थिए ।
ललितपुरको लगनखेलबाट ५० किलोमिटरको दुरीमा रहेको चन्दनपुरका ६० भन्दाबढी किसानले चियाखेती गर्दै आएका छन् । यसका एक उदाहरण बनेका छन् चियाखेतीका अगुवा किसान महांकाल गाउँपालिका–४ कालेश्वरका टुक्रप्रसाद घिमिरे । घिमिरेले ०६७ सालबाट २० रोपनी जग्गामा ३९ हजार रुपैयाँको लगानीमा ३ हजार चियाका बिरुवा रोपेर चिया खेतीको थालनी गरेका हुन् ।
हाल आएर घिमिरेले फार्ममा चियाको साथै लौठ सल्लो, तेजपात, टिमुर, भुइँस्याउ लगायतको खेती गरेका छन् । जुन फर्मबाट घिमिरेको परिवारका सदस्यको साथै ४ जना महिलाले चिया टिप्ने काम पाएका छन् । विभिन्न चिया बगानको व्यवस्थापन गर्दै हिँडेका घिमिरेले ०७२ साल असारबाट कालेश्वर महादेव बहुउद्देशीय कृषि फार्म दर्ता गरेर चियाखेती तथा चियाका विरुवासमेत उत्पादन गर्दै आएका छन् । घिमिरेले चियाखेती सुरु गर्नुभन्दा पहिले २ वर्ष नर्सरीमा काम गरेका थिए सोही नर्सरीमा काम गर्दा गर्दै चियाखेती गर्न प्रेरणा बढेको घिमिरे बताउँछन् ।
नेपालका ६८ जिल्ला तथा भारतको दार्जि्लिङ लगायतका ठाउँ घुमिसकेका घिमिरे भन्छन्, ‘चिया खेती दीर्घकालीन खेती हो । यसबाट अन्य खेतीभन्दा बढी फाइदा लिन सकिने भएकाले यसको खेती गर्नु राम्रो छ ।’ साथै १ रोपनी जग्गामा ७ सयदेखि ७ सय ५० ओटा जति चियाका विरुवा रोप्न सकिने र कसैले चियाखेती गर्न चाहेमा विरुवा दिन र खेती गर्ने तरिकासमेत सिकाउन आफू तयार रहेको घिमिरे बताउँछन् । चन्दनपुर क्षेत्रमा उत्पादन हुने चियालाई एभरेस्ट अर्गा्निक चिया विकास सहकारीले संकलन गरेर प्रशोधन गर्ने गरेको छ ।
चिया प्रशोधन केन्द्रमा चीनबाट ल्याएका ५ ओटा चिया प्रशोधन प्रोसेसिङ मेसिन रहेका छन् । सो प्रशोधन केन्द्रमा चियाका अगुवा किसान टुक्रप्रसाद घिमिरेका छोरा विशाल घिमिरे अपरेटरको रूपमा काम गर्छन् । विशालका अनुसार हरेकदिन १ क्विन्टल चिया प्रशोधन गरेर तयारी गर्न सकिन्छ । १ क्विन्टल चिया तयार गर्न ५ क्विन्टल चियाको कच्चा पदार्थ आवश्यक पर्छ । एभरेस्ट अर्गा्निक चिया विकास सहकारीले तयार गरेको चिया अमेरिका, चीन, अस्ट्रेलियालगायत देशहरूमा १० ग्रामको १० डलरमा बिक्री हुने गरेको छ ।
चियाखेतीमा सहकारी संस्थाहरू
‘चिया छ, पर्यटन छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै चन्दनपुर क्षेत्रमा ८ ओटा सहकारीहरूले चिया उत्पादनको क्षेत्रमा काम गर्दै आएका छन् । जसको नेतृत्व सहकारीकर्मी ऋषिराम घिमिरे तथा एभरेस्ट अर्गा्निक चिया विकास सहकारीले गरिरहेको छ । त्यस क्षेत्रमा रहेको चन्दनपुर वहुउद्देशीय सहकारी संस्थाले पनि चिया खेतीको लागि किसानहरूलाई प्रोत्साहन गर्न विभिन्न योजना बनाएर काम गर्दै आइरहेका सहकारीका अध्यक्ष रामसुन्दर केसीले बताए ।
दूग्ध व्यवसायी सहकारीको नामले दर्ता भएको सहकारीले हाल आएर वचत तथा ऋण, पशुपालन, कृषि लगायतका क्षेत्रमासमेत काम गर्दै आइरहेको छ । सहकारीमा हाल ५ सय ७६ जना सेयर सदस्य छन् भने संस्थाले ५ करोड बढीको कारोबार भइरहेको केसीले बताए । गाउँको आर्थिक विकासका लागि कृषिमा सहकारीको लगानी बढाउँदै लाने उनले बताए । त्यसैगरी गढिमाई चिया उत्पादक सहकारी संस्था लिमिटेडले पनि चियाखेतीलाई प्रोत्साहन गर्नुपर्छ भनी चन्दनपुरकै आसराङमा चियाखेती गरेको छ ।


