काठमाडौं १८ कात्तिक ।
यू–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ ।
बंगलादेश भ्रमणमा रहेको नेपाली टोली आज घरेलु टोली बंगलादेश यू–१९ संग १२३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
२२८ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा १०४ रनमा अलआउट भएको हो । बंगलादेश भ्रमणमा पहिलो खेल खेलेका बलर रसिद खानले नेपालको इनिङ्समा सर्वा्धिक २४ रन बनाए । ४० बल खेलेका रसिदले २ चौका र १ छक्का प्रहार गरे ।
यस्तै पवन सराफले बनाएको १६ तथा सन्दीप लमिछानेले नटआउट १३ रन जोडे । रसिदसंगै पहिलो खेल खेलेका प्रनित थापा मगरले १२ रन बनाए । ब्याट्सम्यान प्रनितले आठौं नम्वरमा ब्याटिङ गरेका थिए ।
पहिलो खेलमा खेलेका दुई फास्ट बलर कमल सिंह ऐरी र किशोर महतोको स्थानमा आज नेपालबाट ब्याट्सम्यान प्रनित थापा मगर र रसिद खानले खेलेका थिए ।
रसिद खान र सन्दीप लामिछानेले दशौँ विकेटका लागि ३७ रनको पार्टनरसिप गरे । जुन नेपाली इनिङ्सको सर्वा्धिक पार्टनरसिप हो ।
त्यसअघि बिकेएसपिजीमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बंगलादेशले कप्तान शैफ हसन र अफिफ होसेनको अर्भशतक मद्दतमा पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २२७ रन बनाएको थियो। शैफले बंगलादेशका लागि सर्वा्धिक ६२ रन बनाए भने अफिफले ५९ रन जोडे । यस्तै तवहिद ह्रिदोएले २९ तथा नाएम शेखले २६ रन बनाए ।
बलिङमा नेपालका कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने बंगलादेशका ३ खेलाडी रनआउट भए।
यस्तै ब्याटिङमा सर्वा्धिक रन बनाएका रसिदले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर ६१ रन दिएका थिए ।
नेपाल र बंगलादेशबीच तेस्रो तथा अन्तिम अभ्यास खेल भोली आइतबार हुनेछ ।
मलेसियामा आगामी बिहिबारबाट शुरु हुने यू–१९ एसिया कपमा नेपाल, बंगलादेश, भारत र मलेसिया एउटै समूहमा छन् ।