काठमाडौं कार्तिक १६, ।
ट्वान्टी- २० विश्वकप क्रिकेटको एसिया छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । प्रतियोगिता आगामी मंसिर ४ देखि मंसिर ११ सम्म थाइल्याण्डमा हुँदैछ ।
आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला क्रिकेट टोलीका प्रशिक्षक सामसोन जंग थापा र कप्तान रुविना क्षेत्री रहेको छनोट समितिले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
रुविना क्षेत्री कप्तान रहेको टोलीमा सीता राना मगरलाई उपकप्तानको जिम्मेवारी दिईएको छ । यस्तै ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा, करुणा भण्डारी, सोनु खड्का र लक्ष्मी चौधरीले अन्तिम १४ मा स्थान बनाएका छन् । यस्तै रितु कनौजिया, सवनम राई, काजल श्रेष्ठ र संगीता राईले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
कविता कुँवर, रितु भण्डारी र रेखा रावललाई भने छनोट समितिले वैकल्पिकमा राखेको छ । छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मंसिर चार गते आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै मंसिर ५ गते हङकङ, मंसिर ७ गते युएई, मंसिर ८ गते मलेसिया र अन्तिम खेलमा मंसिर १० गते चीनसँग प्रतिस्पर्धा गर्नेछ । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट भने आगामी वर्ष वेष्टइण्डिजमा हुनेछ ।