काठमाडौं १२ कात्तिक ।
मलेसियामा आगामी नोभेम्वर ९ बाट शुरु हुने एसीसी यू–१९ एसिया कपका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद दास र यू–१९ टिमका एसीसी कन्सलट्यान्ट वेनकाटापथी राजु रहेको छनोट समितिले खेलाडी छनोट गरेको हो । यस्तै टिममा ४ वैकल्पिक खेलाडी पनि छानिएका छन् ।
मलेसिया प्रस्थान गर्नुअघि नेपाली यू–१९ टोली भोली सोमबार अभ्यास खेल खेल्न बंगलादेश जाँदैछ । बंगालादेशको यू–१९ टोलीसंग नेपालले नोभेम्वर २,४ र ५ मा गरी ३ अभ्यास खेल खेल्ने तय भएको छ ।
मलेसियामै सेप्टेम्वरमा भएको एसीसी इस्टर रिजन टुर्नामेन्टको च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो ।
उक्त प्रतियोगिता खेलेका नन्दन यादव, विक्रम कुमार भुसाल, सन्दीप जोरा र सुमित महर्जन यस पटक टिममा अटाएनन् । विक्रम र सन्दीप वैकल्पिकमा परेका छन् भने नन्दन र सुमित वैकल्पिकमा पनि परेनन् ।
विकेटकिपर प्रकाश केसी, कमल सिंह ऐरी, भिम शार्कीले यू–१९ टिममा कमब्याक गरेका छन्, भने रसिद खान र जितेन्द्र सिंह पनि १५ सदस्यीय टोलीमा अटाएका छन् ।
१५ मध्ये १० खेलाडीले गत वर्ष श्रीलंकामा भएको यू–१९ एसिया कप खेलेका थिए । शहाब आलम, प्रनित थापा मगर, किशोर महतो, रसिद खान र जितेन्द्र सिंह पहिलो पटक यू–१९ एसिया कप खेल्ने टिममा छनोट भएका हुन् ।
एसिया कपका लागि छनोट भएका नेपाली खेलाडीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सन्दीप सुनार, प्रनित थापा मगर, अनिल कुमार शाह, पवन सराफ, मोहम्मद आसिफ शेख, किशोर महतो, शहब आलम, प्रकाश केसी, कमल सिंह ऐरी, भिम शार्की, रसिद खान, जितेन्द्र सिंह रहेका छन् ।