धरान , ११ कार्तिक ।
वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सुनसरीको धरानमा निर्यातमुखी कृषि तथा घरेलु उत्पादन परियोजना संचालन गर्ने भएको छ ।
धरान उपमहानगरपालिका र आसपासका कृषकको जीवनस्तर उकास्न र कृषिलाई निर्यातमुखी बनाउन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सो परियोजना संचालन गर्न लागेको हो ।
पहिलो चरणमा करिब एक करोड रुपैयाँ बराबरको परियोजना संचालन गर्न सुनसरी उद्योग वाणिज्य संघ र केन्द्रबीच सम्झौता भएको छ । परियोजना अनुसार सामुहिक खुकुरी उत्पादनका लागि आरन स्थापना गर्ने, निर्यातजन्य वस्तुहरु अदुवा, मुसुरो, बेसार र रुद्राक्षमा लगानी गर्ने भएको छ ।
नेपालमा उत्पादन हुने खुकुरी मध्ये ८० प्रतिशत खुकुरी धरानका दुई दर्जन खुकुरी उद्योगबाट उत्पादन हुने र ती सबै विभिन्न मुलुकमा निर्यात हुने गरेकाले धरानका वडा ५, ६, १५ र १९ मा गुणस्तरीय खुकुरी उद्योगका लागि पाँच स्थानमा नयाँ विद्युतीय प्रविधिको फरनेस सहितको सामुहिक आरन स्थापना गरिने सम्झौतामा उल्लेख छ ।
धरानको विष्णुपादुका क्षेत्रलाई अदुवा र बेसारको पकेट क्षेत्रको रुपमा थप विकास गर्दै स्थानीय कृषकको आर्थिक स्तर उकास्ने विश्वास गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहाले बताउनुभयो ।
परियोजनाले मुसुरो दाल निर्यातजन्य भएकाले सुनसरीका बराह नगरपालिकाका ३, ४ र ५ वडा र रामधुनी नगरपालिकाका ६ र ७ वडाका पाँच सय कृषकलाई उन्नत जातको मुसुरो दालको बीउ अनुदान स्वरुप वितरण गर्ने पनि सम्झौता भएको छ ।