अबको ५० वर्षको शिक्षाको खाका कोर्ने काम आजदेखि शुरु

अबको ५० वर्षको शिक्षाको खाका कोर्ने काम आजदेखि शुरु

  • शुक्रबार, भदौ ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ ।

मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज शिक्षा मन्त्रालयमा बसेको पहिलो बैठकले ती प्राथमिकता तय गरेको हो ।

यही भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्चशिक्षासम्मको नीति, निर्धारण गर्न उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा ६५ सदस्यीय आयोग गठन गरेको थियो ।

आयोगका विज्ञ सदस्यहरु डा सुरेशराज शर्मा, डा तीर्थराज खनियाँ, डा मनप्रसाद वाग्ले, डा वासुदेव वाग्ले, डा मीनबहादुर विष्ट, डा विद्यानाथ कोइराला, डा विनय कुसियत, डा प्रेमनाथ अर्याल, डा टंकनाथ शर्मा, डा सुशन आचार्य, ई धु्रवराज थापा, डा युवराज संग्रौला र अन्य विज्ञहरु रहेको कार्यसमूहलाई विषयगत (थिम) र त्यसमा तयार गर्नुपर्ने सुझावको ढाँचाको मस्यौदा तयार गर्न बैठकले जिम्मेवारी तोकेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले संघीय संरचनाअनुरुप शिक्षामा एकीकृत नीति र उपर्युक्त कानूनको आवश्यकता रहेको बताउँदै मुलुकलाई अबको ५० वर्षको शिक्षाको मार्गनिर्देश गर्ने गरी आफ्नो विज्ञता र क्षमता प्रदर्शन गरी प्रतिवेदन बनाउन सदस्यहरुलाई आग्रह गर्नुभयो ।

सहभागिता र राजनीतिक अपनत्व बढाउन आयोग अलि ठूलो बने पनि प्राज्ञिक सुझावलाई बढी ध्यान दिएर प्रतिवेदन तयार हुने गराउँदै मन्त्री श्रेष्ठले सरकारको एक सय दिनमा आयोग गठन हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताउनुभयो ।

सो अवसरमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले मुलुकमा राजनीतिक आन्दोलन लगभग समाप्त भएको अवस्थामा भावी शिक्षा पद्धति कस्तो हुने भन्नेमा विज्ञहरुबाट आएको सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

बैठकमा क्षेत्रगत र तहगत विषयगत कार्यसमूह गठन गर्नुपर्ने, शैक्षिक उत्पादन र रोजगारीलाई जोडिनुपर्ने, विगतका आयोगका प्रतिवेदनको कार्यान्वयन अवस्था समीक्षा गर्नुपर्ने, समस्याको पहिचान मात्र नभई समाधानमुखी सुझाव दिनुपर्ने राय आएको थियो । शिक्षालाई राष्ट्रिय मुद्दा र सीप विकाससँग जोडेर हेर्न सक्नुपर्ने पनि उहाँहरुको मत थियो । आयोगलाई पाँच महिनाको कार्यावधि दिइएको छ ।

आयोगमा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी, संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झा, पूर्व शिक्षामन्त्रीहरु डा गंगालाल तुलाधार, धनीराम पौडेल, सांसदहरु जीवन परिवार, उमेश श्रेष्ठ, रुक्मिणी चौधरी, गीता राणा, विभिन्न विश्वविद्यालयका उपकुलपति, विज्ञ र सरोकार भएका व्यक्तिहरु हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी