काठमाडौ ,१३ भदौ ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन अझै केहीदिन लम्बिने भएको छ ।
संगठनको नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा सम्मेलन लम्बिएको हो । अध्यक्षका लागि दावेदारी दिनेको संख्य धेरै भएपछि संगठनमा पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन हुदैछ ।
संगठनमा पहिलो पटक निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागिएकाले केही प्राविधिक कठिनाई देखिएको संगठनका सचिवालय सदस्य निर्मल तामाङले जानकारी दिनुभयो ।
पार्टी नेतृत्वले आफ्नो कुनै आधिकारिक उमेदवारी नभएको र सम्मेलनमा हस्ताक्षेप नगर्ने जनाएपछि खुल्ला निर्वाचनबाट नेतृत्व चयनको तयारी भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले आज बेलुकीसम्ममा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ । हिजो दर्ता भएको मनोनयनमा आज दाबी विरोधको लागि समय दिने र बेलुकीसम्ममा अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी दिनुभयो ।
निर्वाचन प्रक्रिया सुरु भएपनि मतदान भने भोली मात्र हुने जनाइएको छ । संगठनको नयाँ नेतृत्वका लागि अनिल शर्मा र रन्जित तामाङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ३३ पदाधिकारी सहित २ सय ४३ पदका लागि झण्डै ३ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार सक्ने योजनाका साथ क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन गएको बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा लम्बिएको हो । सम्मेलनमा दुई हजार १५ प्रतिनिधि सहभागी छन् ।