काठमाडौं , ३१ साउन ।
नेपाल प्रहरीले अधिकृतसहित ११ सय ७२ जनशक्तिको लागि नयाँ भर्ना खोलेको छ ।
प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ रिक्त रहेका अधिकृतसहित ११ सय ७२ जनशक्तिको लागि नयाँ भर्ना खोलेको हो । प्रहरी निरीक्षकमा ९१ जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।
यस्तै, प्रहरी सहायक निरीक्षकमा ३१४ र प्रहरी जवानमा ७६७ जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको हो। पदपूर्ति खुला तथा समावेशी सिद्धान्तका अधारमा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दरखास्त फाराम भदौ ४ गतेदेखि असोज २ गतेसम्म बुझाउन सकिने सूचनामा उल्लेख छ। दरखास्त फाराम महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरीका क्षेत्रीय र अञ्चल कार्यालयमा बुझाउन सकिनेछ।
प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तीर्ण हुनु पर्नेछ । सहायक निरीक्षकका हकमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण हुनु पर्नेछ। जवानका लागि कम्तीमा ८ पास गरेको हुनु पर्नेछ।
प्रहरी निरीक्षकको उमेर हद २० वर्ष पूरा भई २५ ननाघेको हुनु पर्ने सूचनामा उल्लेख छ। यस्तै, प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भइ २४ वर्ष ननाघेको र जवानका हकमा १८ वर्ष पूरा भई २३ ननाघेका हुनु पर्नेछ।