१७ साउन,काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आगामी भदौं ७ देखि ११ गते २१ औं राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
आफ्नो इतिहासमा पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गर्ने कार्यविधी अखिल क्रान्तिकारीले पास गरेको छ । यो कार्यविधिसँग नेताहरुलाई चुनाव लागेको छ । आकांक्षीहरुले लविङ सुरु गरेका छन् । सहमातीको प्रयास पनि भइरहेको । अधिकांश नेता–कार्यकर्ताहरुले निर्वाचनकै पक्षमा भएकोले निर्वाचन हुने पक्काकक्की जस्तै भएको छ ।
नयाँ नेतृत्वको लागि अनिल शर्मा, रञ्जित तामाङ, गंगाराम तिमिल्सीना, सुरेन्द्र बस्नेत, पंचा सिंह रामचन्द्र अधिकारी, बिरेन्द्र बस्नेत र तिलकराज भण्डारीले दाबी गरिरहेका छन् । तिमिल्सिना, सिंह र बस्नेतले अग्रपंक्तिमा छन् ।
गंगाराम तिमिल्सिना
स्कुले जीवनदेखि राजनीतिमा सक्रिय युवाहरुको पंक्तिमा निकै चर्चित नाम हो गंगाराम तिमिल्सिना । उनी सुर्खेत निबासी हुन् । जनयुद्धबाटै विद्यार्थी राजनीतिमा सुरु गरेका गंगाराम विद्यार्थी आन्दोलनमा प्रखर बक्ताको रुपमा लिइन्छ । विद्यार्थीमाझ गंगारामले स्वच्छ छवि बनाएका छन् ।
माओवादी केन्द्र, आफ्नो संगठन अखिल क्रान्तिकारीमा मात्र होइन समग्र विद्यार्थी आन्दोलनमै गंगाराम चर्चित छन् ।
त्रिभुवन विश्वविद्यालयमा राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिसकेका तिमिल्सीना प्रदेश नम्बर ६ बाट अध्यक्ष बन्न सक्षम र बलिया उम्मेद्वार हुन् । उनी कानूनका विद्यार्थी पनि हुन् । उनको पार्टी नेतृत्व र विद्यार्थीको तल्लो कमिटीसँग राम्रो सम्बन्ध छ । हाल उनी संगठनको उपाध्यक्ष हुन् ।
पंचा सिंह
कालीकोटमा जन्मेर सुर्खेतलाई मुख्य कर्मथलो बनाएकी पंचा सिंह माओवादी आन्दोलनको पृष्ठभूमीमा महिला विद्यार्थीबीच सकारात्मक कोणबाट चर्चाको पात्र हुन् । उनी अहिले संगठनको उपाध्यक्ष हुन् ।
जनयुद्धसँगै विद्यार्थी राजनीतिमा लागेकी सिंहको तल्लो तहका कार्यकर्तामाझ प्रिय छन् । कर्णालीबाट विद्यार्थी आन्दोलनमा शिर्ष तहमा पुग्न सिंहले निकै संघर्षका यात्रा पार गरेकी छन् । माओवादी र विद्यार्थी आन्दोनलबारे प्रष्ट विचार राख्न सक्ने क्षमता भएकी सिंहले भावी अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेकी छन् ।
सिंहको उम्मेद्वारी घोषणासँगै चर्चा बढेको छ । महिला भएको कारण उनलाई नेतादेखि कार्यकर्तासम्मको सहानुभूति छ । अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक महिलालाई मुख्य जिम्मेवारी दिनुपर्ने लविङ सुरु भइसकेको छ । उनको भाषणशैली विद्यार्थीमाझ लोकप्रिय छ ।
सुरेन्द्र बस्नेत
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा चर्चा हुने अर्का पात्र हुन् सुरेन्द्र बस्नेत । संगठनको हालका उपाध्यक्ष बस्नेतले प्रबक्ताको जिम्मेवारी निर्बाह गरिरहेका छन् । कानूनका व्द्यिार्थी बस्नेत अधिबक्ता पनि हुन् ।
जनयुद्धमा त्याग गरेका बस्नेतले पत्रकारीतामा पनि स्नातकोत्तर गरेका छन् । संगठनमा लामो समयदेखि क्रियाशील बस्नेतले पनि अखिल क्रान्तिकारीको भावी अध्यक्षको लागि उम्मेदवारी दिने बताईसकेका छन् । उनलाई पनि निर्बाचन भएमा पूर्वक्षेत्रका विद्यार्थीको सहयोग हुने विश्लेषण हुन थालेको छ ।