पूर्वि पहाडी जिल्ला खोटाङको बतासे १ दिनुवामा वि.स. २०३४ सालमा बुबा नरहरी राई र आमा बुद्धलक्ष्मी राईको कोखबाट वि.स. २०३४ सालमा बबेन्द्र राईको जन्म भएको हो । स्थानीय स्तरमा रही हाल माओवादी केन्द्रको नेतृत्व गरिरहनुभएको राईले स्थानीय तह सम्वन्धी जान्नै पर्ने संबैधानिक र कानूनी विषयको बारेमा प्रष्ट्याउनु भएको छ । अध्ययनमा निक्कै दख्खल राख्ने नेता बबेन्द्र राई हाल माओवादी केन्द्रको तर्फबाट दिप्रुङ गाउँपालिका वडा नं. ४ बतासेको अध्यक्ष पदमा उमेद्धवारी तोकिएको छ । निर्वाचन जित्नु भन्दा अगाडी कसैले स्थानीय तह भनेको के हो ? भन्ने प्रश्न राखेमा कतिपए उमेद्धवारीहरुले नै यसबारेमा जानकार नभएको बताउदै आएको पाईन्छ । संविधानले कार्यकारी अधिकार दिएका ७४४ स्थानीय तह कायम भएका छन् भने निर्वाचन आयोगको परिभाषामा स्थानीय तह अर्थात् गाउँपालिका र नगरपालिकाका बारे नेता राईले आफ्नो धारणा यसरी राखेका छन् ।
१. स्थानीय तह भनेको के हो ?
– नेपालको संविधानअनुसार स्थानीय तह भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा हो ।
२. गाउँपालिका भनेको के हो ?
– गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो ।
३. गाउँ कार्यपालिका भनेको के हो ?
– गाउँपालिकाको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हो ।
४. गाउँसभा भनेको के हो ?
– गाउँपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग गाउँ सभा हो ।
५. नगरपालिका भनेको के हो ?
– नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।
६. नगर कार्यपालिका भनेको के हो ?
– नगरपालिकाको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो ।
७. नगर सभा भनेको के हो ?
– नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अङ्ग नगर सभा हो ।
८. गाउँ सभा कसरी बन्छ ?
– गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु, प्रत्येक वडाबाट निर्वा्चित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वा्चित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।
९. दलहरुले महिला वडा सदस्यमा उमेदवारी दिँदा कसरी दिनुपर्छ ?
– दुई जना महिला वडा सदस्यको लागि दलहरुले मनोनयनपत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ भने एकजना मात्र महिला सदस्यको लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।
१०. गाउँ कार्यपालिका कसरी बन्छ ?
-गाउँ कार्यपालिकामा एकजना अध्यक्ष, एकजना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, गाउँसभाले आफूमध्येबाट निर्वा्चित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वा्चित गरेका २ जना सदस्यहरु मिलेर गाउँ कार्यपालिका बन्छ ।
११. नगरसभा कसरी बन्छ ?
– नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख, नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु,प्रत्येक वडाबाट निर्वा्चित हुने २ महिलासहित ४ जना सदस्यहरु र सम्बन्धित नगरपालिका भित्रका दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वा्चित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।
१२. नगर कार्यपालिका कसरी बन्छ ?
नगर कार्यपालिकामा एक जना प्रमुख, एकजना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगर सभाले आफूमध्येबाट निर्वा्चित गरेका २ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।
१३. गाउँ सभा र नगर सभाको कार्यकाल कति वर्षको हुन्छ ?
– गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँ सभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।
१४. जिल्ला सभा कसरी बन्छ ?
– सम्बन्धित जिल्ला भित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्छ ।
१५. जिल्ला सभाले के काम गर्छ ?
– जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्छ । जिल्ला भित्रका विकास तथा निर्माणसम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने काम गर्दछ ।
१६. जिल्ला समन्वय समिति कसरी बन्छ ?
– जिल्ला सभाले एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीन जना महिला र एकजना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य निर्वा्चित गरी जिल्ला समन्वय समिति बनाउँछ ।
१७. जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यमा क–कसले उमेदवारी दिन पाउँछन् ?
– जिल्ला सभाका सदस्यहरुका साथै जिल्ला भित्रका गाउँसभा र नगरसभाका सदस्यहरुले समेत उमेदवारी दिन पाउँछन् ।
१८. जिल्ला समन्वय समितिले के काम गर्छ ?
-क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने,
ख) विकास तथा निमार्ण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने,
ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने
पत्रकार गोपालचन्द्र राईसँग गरेको कुराकानीका आधारमा ।