काठमाण्डौ ।
चीनको सछुवान प्रान्तको प्राचिन नगर नान्छोङ र काठमाडौंबीच सहयोग आदान प्रदान हुनुपर्नेमा चिनिया पक्षले जोड दिएको छ ।
“पेटी र सडक” दक्षिण एसियामा विश्वास र सहयोग प्रबद्र्धनको पहल विषयक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन नान्छोङ पुगेको नेपाली प्रतिनिधि मण्डलसँग भेटवार्ता गर्दै नान्छोङ फोरेन एफियर्स एजेन्सीका निर्देशक सु योङवान्ले नेपाल र चीनबीच प्राचिन कालदेखि प्रगाढ सम्बन्ध रहदै बताउँदै आएको बताए ।
नान्छोङ प्राचिन रेशम मार्गको केन्द्र भएको र नान्छोङले सम्पर्क बढाएर मध्य एसिया र दक्षिण एसिया जोड्ने कडिको रुपमा आफुलाई प्रस्तुत गरिरहेको जानकारी दिँदै निर्देशक सुले काठमाडौं र नान्छोङबीचको सहयोग आदान प्रदानमा जोड दिनुपर्ने बताए ।
काठमाडौं र नान्छोङले प्राचिन शहरको रुपमा प्रसिद्धि कमाई सकेको भन्दै निर्देशक सुले दुवै शहरबीच धेरै कुराहरुमा समानता भएकोले पनि दुई शहरबीचको आपसी सहयोग अभिवृद्धिमा जोड दिन सके भविष्यमा महत्वपूर्ण सफलताहरु प्राप्त गर्न सकिने विश्वास गरे ।
सो अवसरमा बोल्दै नेपाली प्रतिनिधि मण्डलका नेता तथा नेपाल चीन बाणिज्य मैत्री संघका सल्लाहकार एवम् वरिष्ठ लेखक हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र सो सम्बन्ध हाल जनस्तर सम्म विकसित भैरहेको बताए ।
महामञ्जुश्री, फास्यान, स्वान चाङ, भृकुटी, अरनिको जस्ता महामानवहरुले दुई मुलुकबीचको सम्बन्धलाई घनिष्ठ रुपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको श्रेष्ठले प्रष्ट पारे ।
“एक पेटी, एक सडक” परियोजना अन्तर्गत काठमाडौं र नान्छोङबीचको सम्बन्ध जोडिने विश्वास व्यक्त गर्दै श्रेष्ठले पेटी र सडक परियोजनालाई सफल पार्न काठमाडौं र नान्छोङले हातेमालो गर्दै अगाडी बढ्नु पर्ने बताए । सो भेटघाटमा बोल्दै नेपाल चीन बाणिज्य मैत्री संघका सञ्चार अधिकृत तथा आजको खवर अनलाईनका सम्पादक रमेश कुमार भट्टराईले स्थापनाकालदेखि नै नेपाल चीन बाणिज्य मैत्री संघले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेको बताए ।
साथै भट्टराईले नेपाल र चीनबीच आपसी सहयोगको क्षेत्रमा पछिल्ला दिनहरुमा प्रसस्त उपलब्धिहरु हासिल हुँदै गरेको समेत प्रष्ट पारे । नेपाली सञ्चारकर्मी र चिनिया सञ्चारकर्मीबीचको सुमधुर सम्बन्धले सूचना आदान प्रदानमा महत्वपूर्ण सहयोग मिलेको भन्दै आजको खवर अनलाईनले चीनको दू्रत विकास, नेपाल चीन सम्बन्ध, एक पेटी, एक सडक जस्ता विषयहरुलाई उच्च प्रार्थमिकता दिएर समाचार प्रकासित गर्दै आएको समेत जानकारी दिए ।
चाइना वेस्टर्न नर्मल युनिभर्सिटी तथा छारहार इन्ट्रिच्युटको आतिथ्यता र भारत अध्ययन केन्द्रको आयोजनामा सम्पन्न सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान र श्रीलंकाका ३० जना विज्ञ तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । सम्मेलन १८ र १९ तारिख दुई दिन सम्म चलेको थियो ।

