काठमाडौँ, ३० चैत ।
सरकारले संसद् सचिवालयमा दर्ता गरेको ‘संविधान संशोधन–दोस्रो विधेयक), २०७३ मा प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न सङ्घीय आयोग गठनको प्रस्ताव गरिएको छ ।
‘प्रदेश नं ५ का सिमाना हेरफेरको प्रस्तावसहितको अघिल्लो संविधान संशोधन फिर्ता लिई त्यस प्रस्तावमा भएमा अन्य विषय समावेश गरेर प्रदेशको सङ्ख्या र सिमाना हेरफेर सिफारिस गर्न संविधानको धारा, २८७ मा थप गरी सङ्घीय आयोग गठनको प्रस्तावको नयाँ विधेयक दर्ता भएको हो । संशोधन प्रस्तावको उद्देश्य र कारणमा संविधानलाई सर्वस्वीकार्य बनाउने समेतको प्रयोजनका लागि’ भनिएको छ ।
प्रदेशको सङ्ख्या र सिमाना हेरफेर गर्न प्रदेश सभा गठन हुनुपर्ने संविधानको मर्म रहेको र मधेसी मोर्चाको मागका आधारमा तराई र पहाडलाई अलग पार्ने उद्देश्य अघिल्लो संशोधनमा भएको भन्दै विपक्षीले विरोध गरेपछि नयाँ विधेयक दर्ता भएको हो ।
नेपालको संविधानको धारा, २७४ को (४) मा प्रदेशको सिमाना हेरफेर गर्दा सम्बन्धित प्रदेश सभाको स्वीकृतिका लागि पठाउनुपर्ने र उपधारा (८) मा प्रदेश सभाको सहमति आवश्यक नपर्ने वा उपधारा (५) बमोजिम बहुसङ्ख्यक प्रदेश सभाबाट स्वीकृत भई आएको विधेयक सङ्घीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्ने व्यवस्था भएकामा त्यसलाई संशोधनको प्रस्ताव गरिएको हो ।
प्रस्तावमा भने उपधारा (८) पछि खण्ड (क) थप गरी प्रदेश सभा गठन नभएसम्मका लागि सङ्घीय संसद्ले नै प्रदेश सभाको सहमति नभए पनि प्रदेशको सिमाना हेरफेर गर्न सक्ने उल्लेख छ ।
संविधानमाथिका ११ वटा धाराअन्तर्गतका बुँदामा संशोधन प्रस्ताव गरिएको नयाँ विधेयकमा प्रदेश सभा गठन नहुन्जेलसम्म त्यसको अधिकार व्यवस्थापिका–संसद्ले प्रयोग गर्न सक्ने र राष्ट्रियसभाका सांसदको निर्वाचन मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकारको सट्टा सम्बन्धित प्रदेशबाट कम्तीमा एक महिला, एक दलित र एक अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकसहित तीनजनाका दरले एक्काइस र प्रत्येक प्रदेशको जनसङ्ख्याको अनुपातमा सङ्घीय कानुनबमोजिम निर्वाचित हुने पैँतीस गरी छपन्नजना’ भन्ने राखिएको छ ।


