काठमाण्डौ,११ चैत ।
कृषि व्यवसायीहरुलाई परामर्श सेवा प्रदान गर्न स्थापित कृषि व्यवसाय नविनता केन्द्र ( एबीक) ले बिहीबार राजधानीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को आंशिक लगानीमा उपआयोजना सञ्चालन गर्ने संघसंस्थाका पदाधिकारीका लागि आयोजना गरिएको हो ।
प्याक्ट सन् २००९ मा कार्यक्रम नेपाल सरकार, कृषि विकास मन्त्रालयले विश्व बैंकको ऋण तथा अनुदान सहयोगमा कार्यान्वयनमा ल्याएको आयोजना हो ।
यसले कृषि व्यवसायी तथा उद्यमीहरुको प्रतिष्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । उक्त उद्देश्य प्राप्त गर्न प्याक्टले निश्चित मूल्यशृंखलामा आवद्ध कृषि व्यवसायीहरुलाई आंिशक अनुदान प्रदान गरी उपआयोजना सञ्चालन गर्दछ भने कृषि उपजको बजार पहुँच तथा खाद्य स्वच्छता कायम गर्ने बजारस्थलको निर्माण गर्नुका साथै प्राविधक सहयोगका लागि विभिन्न निकायहरुलाई उपकरण प्रदान गरेको छ ।
कार्यक्रम एबीकको मूख्य साझेदार अन्तराष्ट्रि गैर सहकारी संस्था प्राक्टिकल एक्सन यूकेको कन्सल्टेन्सी सेवाले आयोजना गरेको हो । उक्त कन्सल्टेन्सीले प्याक्टको लगानीमा कृषि व्यवसाय परामर्श सेवा प्रदान गर्ने गरी सम्झौता गरेको छ । कार्यशाला प्याक्टका लाभग्राहीलाई उक्त परामर्श सेवाबारे जानकारी दिन आयोजना गरिएको एबीक व्यवस्थापन समूहले जनाएको छ ।
यसैगरी एबीकले आफ्ना सम्भाव्य ग्राहकहरुको मूल्यांकन तथा सहजीकरण गर्न तथा प्याक्टका सेवाग्राहीहरुलाई आवश्यक पर्ने सेवाबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको एबीकका कार्यकारी प्रमूख एसएम करुपणचेट्टीले बताउनुभयो । करिव २० जना सेवाग्राही सहभागी हुने आशा गरिए पनि ४७ सेवाग्राही सहभागी भएको उहाँले बताउनुभयो ।
प्राक्टिकल एक्सन कन्सल्टेन्सीले काठमाडौं विश्व विद्यालयको व्यवस्थापन संकाय र भारतीय कम्पनी इन्टेलीक्यापको संयुक्त उपक्रममा उक्त परामर्श सेवाको लागि प्याक्टसँंग सम्झौता गरेको छ । सम्झौता अनुसार एबीक एउटा गैरनाफामूलक कम्पनीका रुपमा नेपालमा दर्ता भई १ हजार कृषि व्यवसायीहरुलाई परामर्श सेवा प्रदान गर्नेछ । तीमध्ये कम्तिमा पनि २० प्रतिशत प्याक्टका लाभग्राही हुनैपर्ने सम्झौतामा उल्लेख छ । प्याक्टको समयावधी सन् २०१८ को जुन ३० सम्म मात्र रहेकाले त्यसपछि पनि एबीकलाई सेवा प्रदानमा निरन्तरता दिन कृषि विकास मन्त्रालयले आर्थिक स्रोत प्रदान गर्ने छ । एबीकका लागि विश्व बैंकको एक समूह इन्फोडेभले प्राविधिक सहयोग गर्दैआएको छ । एबीक व्यवस्थापन व्यवस्थापन समूहका अनुसार उक्त गैरनाफामूलक कम्पनी दर्ताको अन्तिम प्रक्रियामा रहेको र यही अप्रिल ११ देखि विधिवत रुपमा सेवा सुरु गरिने छ । सोही सेवा सुरु गर्ने तयारीस्वरुप बिहीबार अन्तरक्रिया आयोजना गरिएको हो ।
यसअघि नेपाल आन्टरप्रिनर्स हबले कृषि व्यवसायीहरुका लागि बुट क्याम सञ्चालनका लागि आवेदन माग गरेको थियो । यही मार्च १० सम्मका लागि समयसिमा तोकिएकोमा ५ सयभन्दा बढी आवेदन परेको हबले जनाएको छ । आवेदकमध्ये केही प्याक्टका लाभग्राही पनि परेका छन् । हब इन्फोडेभको सहयोगमा स्थापित संस्था हो । क्यामका लागि छनोट प्रक्रिया जारी रहेको छ । अन्तिम छनोटमा पर्ने २० उद्यमीलाई १ साता लामो तालिम प्रदान गर्ने कार्यक्रम छ । पहिलो पटकको तालिममा खाद्य वस्तुको प्रशोधनका क्षेत्रमा कार्यरत व्यवसायीहरुलाई सहभागी गराइने हबले जनाएको छ ।