माधव अधिकारी
काठमाडौँ,२४ फागुन । अरु दिन व्यावसायिक चहलपहल मात्र हुने बाफलमा मङ्गलबार कृष्णभक्तिको धुनले वातावरण नै बेग्लै थियो ।श्रद्धालुहरु भगवान् कृष्णको भक्तिमा लीन
देखिन्थे ।श्रीकृष्ण प्रणामी सेवा समिति, निजानन्द इकाई समिति,
सीतापाइलाको आयोजनामा सुरु भएको सातदिने श्रीमद् तारतम सागर एवं
श्रीमद्भागवत विराट ज्ञान महायज्ञले त्यस क्षेत्रको वातावरण नै भक्तिमय
देखिएको थियो ।समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै उद्योगमन्त्री
नवीन्द्रराज जोशीले भने –‘धर्मले सबैभन्दा ठूलो कुरा समर्पण
सिकाउँछ,निराश हुन दिँदैन ।’ एक हप्तासम्म यस्ता धार्मिक कार्यक्रममा
बस्ने आफ्नो लालसा भएको उनले बताए ।
भारतको सिक्किम धर्मसभा सदस्य भागवताचार्य रोहितराजको प्रवचनले वातावरण
नै गुञ्जायमान बनाएको थियो ।‘भगवान् कृष्ण प्रेम,भक्ति र वैराग्यका
त्रिवेणी हुन्,उनी अहिले पनि सान्दर्भिक छन्’कथावाचक रोहितराजले भने
।कार्यक्रम उद्घाटन समारोहमा कृष्ण प्रणामी सेवा समितिका केन्द्रीय
अध्यक्ष मदनकृष्ण शर्माले धार्मिक संस्थामध्ये अग्रणी रहेको सेवा समितिको
गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोगको अपेक्षा गरे ।
आयोजक संस्थाका उपाध्यक्ष रामबाबु सेढाईँले पूर्वीय दर्शनको प्रचार
प्रसारमा सबैजना लाग्नुपर्ने बताए । करीब ४०० जनाले उपवास बसी कलशयात्रा
गर्दै बिहान नगरपरिक्रमा गरेका थिए ।समारोहमा बिहान ६ बजे योग
शिविर,पूजापाठ,दिउँसो भागवत कथा वाचन,बेलुकी भागवत महात्म्य र भजन कीर्तन
समेत भइरहेको छ । कृष्ण प्रणामी सेवा समितिको स्वर्ण महोत्सवका अवसरमा
कार्यक्रम आयोजना गरिएको मूल समारोह समिति संयोजक मणि पाण्डेले जानकारी
दिए।