व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पूरक अनुदानमा पूर्वाञ्चलका ७ जिल्लामा चौथो आह्वान अन्तर्गत कार्यान्वयनमा आएका साना तथा मझौला उपआयोजनाहरुले आफ्नो काम सुरु गरिसकेका छन् । उक्त क्षेत्रमा ४५ उपआयोजनासँंग अनुदान सम्झौता सम्पन्न गरिएकोमा सबै उपआयोजनाले काम सुरु गरेका हुन् ।
पैतालीसमध्ये ३९ उपआयोजनाले पहिलो सार्वजनिक सुनुवाइ समेत सम्पन्न गरेको जानकारी आयोजना कार्यान्वयन सहयोग समूह (प्रिस्ट) ले दिएको छ ।
ती उपआयोजनाहरुसँंग गत मंसिर ९ गते अनुदान सम्झौतामा हस्ताक्षर गरिएको हो । ती उपआयोजना मार्फत करिव १८ करोड ६७ लाख रुपैयाँ अनुदान प्रदान गरिने आयोजनाले जनाएको छ ।
उक्त क्षेत्रका झापा,मोरङ,सुनसरी,उदयपुर,सप्तरी, सिराहा र खोटाङ जिल्लामा ती उपआयोजना सञ्चालनमा छन् । दुध,मासु,तरकारी र माछा गरी चारवटा मूल्य शृंखलामा आवद्ध कृषक तथा कृषि व्यवसायीहरुलाई अनुदान सम्झौता गरिएको हो । ती उपआयोजनाहरुले आगामी फागुन १५ भित्रमा आफ्नो हिस्सा तर्फको काम पूरा गरी अनुदानका निकासाका लागि लागि आवेदन दिनु पर्ने व्यवस्था सम्झौताले गरेको छ ।
यसैगरी सम्झौता भएको ३ महिनाभित्र काम सुरु नगर्ने र ६ महिनाभित्र किस्ता भुक्तानी नलिने उपआयोजनाहरु स्वतः रद्द हुने पनि व्यवस्था गरिएको छ ।