व्यवसायिक कृषि तथा व्यापार आयोजनाको दातृ निकाय विश्व बैंकले पूरक अनुदान प्रणालीको प्रभाव मूल्यांकन सुरु गरेको छ । मूल्यांकन विश्व बैंककै एक अंग डेभलपमेन्ट इम्प्याक्ट इभ्यालुएस (डाइम) ले सुरु गरेको हो ।
प्रभाव मूल्यांकनका लागि ४९ जिल्लामा कर्मचारी खटाइएको डाइमका फिल्ड कोअर्डिनेटर अडबायर बाटमुखले बताउन ुभयो । उहाँले जनवरी १५ मा आयोजनामा आयोजित छलफलमा यसबारे विष्तृत विवरण प्रस्तुत गर्नुभयो ।
आयोजनाले मंसिर महिनामा चौथो आह्वान अन्तर्गतका २ सय ७५ उपआयोजनालाई एक अर्ब १२ करोड रुपैयाँ पूरक अनुदान प्रदान गर्ने सम्झौता गरेको थियो । उपआयोजना सुरु हुने अवस्थामा ती उपआयोजनाहरुको आधार रेखा सर्वेक्षण गर्ने प्रावधान छ । सोही सर्वेक्षणलाई समेत संलग्न गरी डाइमले पनि प्रभाव मूल्यांकन सुरु गरेको अनुसन्धान विश्लेषक साहिल कार्पेले बताउनुभयो ।
यही मूल्यांकनको परिणामका आधारमा विश्व बैंकले नेपालको कृषि क्षेत्रमा ऋण तथा अनुदान सहयोग गर्दा अपनाइने नीति तय गर्ने टास्क टिम लिडर डा. प्याट्रिक भेरिसिमोले बताउनुभयो । हाल विश्व बैंकले पूरक अनुदान प्रणालीमार्फत अनुदान प्रदान गर्ने गरी सरकारलाई आर्थिक सहयोग प्रदान गर्दैआएको छ । यस अन्तर्गत आयोजनाले केही अंश प्रदान गर्ने र बाँकी अंश किसान तथा कृषि व्यवसायी स्वयंले लगानी गर्नुपर्दछ । अनुदानग्राहीले आफ्नो हिस्सामा पर्ने काम सम्पन्न गरेपछि मात्र आयोजनाले अनुदानको हिस्सा प्रदान गर्दछ । भरसक किसानलाई सजिलो हुने गरी अनुदान प्रवाह गरिने आयोजना निर्देशक डा. गोविन्द प्रसाद शर्माले बताउनुभयो ।
विश्व बैकको अनुदान तथा ऋण सहयोगमा पशुसेवा तथा फलफूलसम्बन्धी मेगा प्रोजेक्ट पाइप लाइनमा छ भने प्याक्टकै दोस्रो चरणको पनि तयारी हुँंदैछ। यस प्रभाव मूल्यांकनका आधारमा यी नयाँ सुरु हुने परियोजनाको लगानी प्रणाली तय हुने आशा गरिएको छ ।
यसैबीच नेपाल भ्रमणमा रहेको विश्व बैंकको मिसनका सदस्यहरुले ३ भागमा विभाजित भई काम गर्दै आएका छन् । एउटा टिमको नेतृत्व भेरिसिमोले गर्नुभएको छ भने अर्को टिमको नेतृत्व टोनी ग्लेजरले गर्नुभएको छ । टोनी विश्व खाद्य तथा कृषि संगठनको मूख्यालय रोमबाट मिसनमा सहभागी हुनुहुन्छ । उहाँले जनवरी १६ मा पनि विभागीय प्रमूखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै तेस्रो टिमको नेतृत्व डाइमका तर्फबाट कार्पेले गर्नुभएको छ ।

भेरिसिमो नेतृत्वको समूहले आयोजनाको बैठक हलमा आयोजना निर्देशक डा शर्मा, प्राविधिक सल्लाहकार डा. प्रभाकर पाठक तथा विषयगत विज्ञहरुसँंग छलफल गर्दैआएको छ भने ग्लेजर नेतृत्वको समूहले पशुसेवा विभाग, कृषि विभाग तथा खाद्यप्रविधी तथा गुण नियन्त्रण विभागका महानिर्देशक तथा फोकल पर्सनहरुसँंग छलफल गरेको छ । कार्पेको समूह फिल्डमा काम गर्दैआएको छ । दुबै समुहमा आयोजनाका वरिष्ठ अधिकृतहरुले संयोजन गर्दैआएका छन् ।