कञ्चनपुर, १६ पुस । कन्चनपुरमा उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि लोकप्रिय हुँदै गएका छन् ।
ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो ।
रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हँुदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताउनुभयो ।
परम्परागत प्रविधिको प्रयोग गरी उखु रोप्दा ३० प्रतिशत बोट मात्रै उम्रिने गर्दथे, उहाँले भन्नुभयो, “आधुनिक ट्रेन्च प्रविधिबाट रोपिएको उखु ९० प्रतिशतसम्म उम्रिने गर्दछ ।”
यस प्रविधिबाट रोपिएको उखुमा रोग कीराको समस्या कम हुनुका साथै चिनीको मात्रा बढी हुने भएकाले चिनी मिलमा यो उखु सहजै बढी मूल्यमा बिक्री हुने गरेको उहाँले भन्नुभयो ।
ट्रेन्च प्रविधिबाट लगाइएको उखुमा ६० प्रतिशत पानीको बचत हुने, उखुमा माटो चढाउन सहज हुने, बाध्न सजिलो हुने र कम ढल्ने हुनाले यो प्रविधि किसानका उपयुक्त रहेको महाकाली सुगर इन्डष्ट्रिजका क्यान म्यानेजर राजेश्वरप्रसाद शाहले बताउनुभयो ।