धनगढी, मंसिर २६ ।
धनगढीका एक किसानको बारीमा फलेको २५ किलोको लौका यतिबेला सुदूरपश्चिम महोत्सवको आकर्षण बनेको छ ।
तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा ५, ८ वा १० किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर धनगढी, बसन्तटोलका लालितमान सोपको बारिमा २५ किलोको लौका फलेपछि उनी नै आश्चर्यमा छन् ।
उनले सो लौका केही दिनदेखि जारी महोत्सवअन्तर्गत् कृषि प्रदर्शनीस्टलमा राखिएको छ ।
सो लौका हेर्नेको भीड लाग्ने गरेको प्रदर्शनीकक्षका किसान बालकुमार रानामगरले बताए ।
स्थानीय जातको यो गोलो लौकाको बोटमा कम्पोस्ट मल प्रयोग गरिएको बताइएको छ ।
यति ठूलो लौका फलेको देख्दा आफूलाई अनौठो लागेको लौका अवलोकन गरेका स्थानीयबासी हरिश जोशीले बताए ।
महोत्सवस्थलमा प्रदर्शनका लागि ल्याइएको हिमालको चौंरीगाई र मरुभूमिको ऊँट पनि अर्को आकर्षणको केन्द्र बनेको छ ।
‘चौंरीगाई र ऊँट नदेखेकाले हेर्न आएको हुँ’–अवलोकनमा भेटिएका हेमराज पनेरुले भने–‘आफूहरुको लागि चौंरीगाई र ऊँट अनौठो जन्तु लाग्यो ।’