काठमाण्डौ ,२२ मंसिर ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आज इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ चीनबाट ल्याउने बिषयमा सम्झौता भएको छ ।
हङकङमा आज नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेडका कार्यकारी उपाध्यक्ष ओउ यानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
आज भएको सम्झौतापछि भारतबाट मात्रै ल्याईदै आएको ब्यान्डविथमाथिको एकाधिकार तोडिएको छ । अब टेलिकमले रसुवागढी नाका नजिकै रहेको चाइना टेलिकमको ‘जिलोङ गेटवे’मार्फत इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ ल्याउनेछ ।
यसअघि टेलिकम सहित नेपालका सबै सेवाप्रदायकले भारतीय बाटोबाट मात्र ब्यान्डविथ भित्र्याउँदै आएका थिए ।
इन्टरनेटका लागि अप्टिकल फाइबर र स्याटलाइटमार्फत ब्यान्डविथ भित्र्याउने गरिन्छ । विश्वभर नै हाल अप्टिकल फाइबरमार्फत ब्यान्डविथ भित्र्याउने चलन बढेको छ ।
अन्य माध्यमको तुलनामा फाइबरलाई प्रभावकारी मानिन्छ । टेलिकम र चाइन टेलिकमको अप्टिकल फाइबर नेटवर्क गत जेठ तेस्रो साता रसुवागढी नाकामा जोडिएको थियो । त्यसबेलै गरिएको परीक्षण सफल भएपनि व्यवसायिक कारोबारका लागि भने सम्झौता भएको थिएन ।
चीनसँग स्थल मार्गबाट जोडिएकाले यो मार्गबाट अरु सेवाप्रदायकसँग पनि यसैगरी ब्यान्डविथ किन्न सकिने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताउनु भयो ।
टेलिकमले यसअघि भारतीय मार्गबाट भैरहवा, वीरगन्ज र विराटनगर नाकाहुदै ब्यान्डविथ किन्ने गरेको थियो ।