काठमाण्डौ ,२१ मंसिर ।
पदीय मर्यादाविपरीत काम गरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणकाका तीन जना सञ्चालक समिति सदस्यलाई सात दिनभित्र स्पष्टीकरण पत्र बुझाउन दोस्रो पटक निर्देशन दिएको छ ।
यसअघि मन्त्रालयले पठाएको स्पष्टीकरणपत्र बुझन् अस्वीकार गरेपछि आज पुन सार्वजनिक सूचनामार्फत प्राधिकरणका मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई पत्र बुझ्न निर्देशन दिदै स्पष्टीकरण पत्र बुझाउन भनेको छ ।
प्राधिकरण सञ्चालक समितिका सदस्य रहेका तीनै जनाले पदीय मर्यादाविपरीत तथा प्राधिकरण ऐन, २०४१ को दफा १५ विपरीत काम गरेको पाइएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई कार्वाहि गर्न नपर्ने कारण सहित स्पष्टीकरण पत्र बुभलाउन निर्देशन दिएको छ ।
गत शुक्रबार पठाइएको पत्र बुझ्न अस्वीकार गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत नै सात दिनभित्र पत्र बुझ्न र बुझ्ने काम नभए कानुनअनुसार कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ ।
ऊर्जाको स्पष्टीकरणपत्रमा अनधिकृत रुपमा सञ्चालक समितिको बैठक बस्ने तथा बैठकको निर्णय कार्यान्वयन गर्न दबाब दिने, त्यस्ता बैठकको निर्णय एवम् सूचना सार्वजनिक रुपमा प्रचार गर्नेजस्ता कार्य गरी प्राधिकरणको हित विपरीत काम गरेको पाइएकाले सार्वजनिक सूचनामार्फत स्पष्टीकरणपत्र सार्वजनिक गरिएको सूचनामा स्पष्ट पारिएको छ ।
मन्त्रीस्तरीय निर्णयअनुसार स्पष्टीकरण पेस गर्नेसम्बन्धी पत्र घर तथा कार्यालयमा बुझाउन जाँदा उपलब्ध नभएको र घरपरिवारले समेत बुझ्न अस्वीकार गरेको हुँदा सूचनामार्फत जानकारी गराइएको हो ।
सूचना प्रकाशित भएको मितिले सात दिनभित्र स्पष्टीकरणपत्र नबुझाए कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ ।