काठमाडौ १८ मंसिर ।
कृषि विभाग, बाली संरक्षण निर्देशनालयको आयोजनामा आजदेखि विषादी प्रयोगमुक्त सप्ताह सुरु हुदैछ । किसान, व्यापारी, उपभोक्ता लगायत सरोकार भएकाहरुलाई सचेत गर्ने उद्देश्यले आगामी मंसिर २५ गतेसम्म विषादी प्रयोगमुक्त सप्ताह मनाउने तयारी भएको विभागले जनाएको छ ।
विभिन्न अध्ययनले विषादीको मात्रा तरकारी बालीमा बढी हुने गरेको देखाएको छ । नेपालमा भित्रिने विषादीमध्ये ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताउनुभयो ।
गत वर्ष नेपालमा चार सय ५४ दशमलव ६ टन विषादी आयात भएको थियो । निर्देशनालयले उपभोक्ता र व्यापारी दुवैलाई सचेत गराउनु दुई वर्ष पहिलेदेखि कालिमाटीमा फलफूल तथा तरकारीको अवशेष विश्लेषण समेत सुरु गरेको छ ।
सन् १९८४ मा भारतको भोपालमा विषादीको चुहावटबाट २० हजारको मृत्यु भएको स्मरण गर्दै विश्वभर सन् १९९८ देखि विषादी प्रयोगमुक्त दिवसका रुपमा डिसेम्बर ३ लाई मनाउने गरिएको हो ।