काठमाडौं, असोज १७ ।
नेपाल स्टक एक्सचेन्जले सूचीकृत भएर सेयरबजार कारोबार गरिरहेका कम्पनीले तोकिएको समयमा वार्षिक सूचीकरण नवीकरण शुल्क नबुझाए कारबाही गर्ने चेतावनी दिएको छ ।
असोज मसान्तभित्र सबै कम्पनीले तोकिएको वार्षिक शुल्क बुझाइ सक्नुपर्ने भएपनि अझै १ सय कम्पनीले नवीकरण शुल्क नबुझाएको भन्दै नेप्सेले तत्काल नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
हालसम्म १२४ कम्पनीले रु ७६ लाख शुल्क बुझाईसकेको पनि नेप्सले जनाएको छ ।
कम्पनीका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले तोकिएको समयमा नवीकरण शुल्क नबुझाउने कम्पनीलाई नेप्सेले कानुनअनुसार कडा कारबाही गर्ने बताउनु भयो ।
नेप्सेमा समावेश भएका कम्पनीको सेयररडिवेन्चर सूचीकृत भइ वित्तीय मध्यस्तकर्तामार्फत् कारोबार हुँदै आएका कम्पनीले धितोपत्र कारोबार नियमावली, २०५० को अनुुसूची–९ बमोजिम वार्षिक शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
नियमअनुसार रु एक करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु १५ हजार नवीकरण शुल्क बुझाउनुपर्छ ।
त्यसैगरी, रु एक करोडदेखि पाँच करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु २५ हजार, रु पाँच करोडदेखि १० करोडसम्म चुक्तापुँजी भएका कम्पनीले रु ३५ हजार र रु १० करोडदेखिमाथि चुक्तापुँजी भएका कम्पनीले रु ५० हजार वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।