काठमाण्डौ,१० असोज ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावित परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज सम्पन्न बैठकले पहिलो किस्ताको अनुदान रकम असोज २० गतेभित्र दिइसक्ने र सो रकम पाएकालाई थप डेढ लाख दिने निर्णय गरेको हो ।
यस्त्ै बैठकले १० दिनभित्र प्रधानमन्त्रीको नेतृत्वमा रहेको पूनर्निर्माण परामर्श परिषद्को बैठक बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा दुई दिन बसेको बैठकले १० दिनभित्र परामर्श परिषद्को बैठक बोलाएर भुकम्पपछिको पुनर्निमाणका बिषयमा थप छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै प्रधानमन्त्रीले दुई दिन सम्म भूकम्पपछिको पुनरनिर्माणमा भइरहेको प्रगति तथा त्यसको समिक्षा लगायतका विषयमा भएका छलफलका निश्कर्षलाई समेट्दै प्राधिकरणलाई परिणाममूखी काम युद्धस्तरमा गर्न निर्देशन पनि दिनुभयो ।
बैठकले पूनर्निर्माणको कामको प्रयोजनका लागि सहसचिवको नेतृत्वमा क्षेत्रीय स्तरमा बनाइएको संरचना कामयावी हुन नसकेको निष्कर्ष समेत निकालेको छ ।
जिल्ला स्तरमा सांसदको नेतृत्वमा प्रमूख जिल्ला अधिकारी र जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधिहरु सम्मिलित सचिवालय गठन गरेर कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्रधानमन्त्रीको घोषणा बमोजिम कार्यसम्पादन गर्न आयोग प्रतिवद्ध रहेको बताउँदै निर्णय कार्यान्वयनमा प्राधिकरण गम्भीरतापूर्वक लाग्ने बताउनुभयो ।