काठमाडौं, साउन ३१ ।
स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका सबै चिकित्सकलाई २४ घण्टाभित्र कामबाट फिर्ता हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन लगत्तै मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले ती चिकित्सकलाई २४ घन्टाभित्र मन्त्रालयमा बोलाउने तथा करार र अस्थायी सरकारी चिकित्सकको करार सम्झौता भंग गर्ने निर्णय भएको हो ।
मन्त्रालयले नक्कली चिकित्सकलाई २४ घण्टे निर्देशन दिदै करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।
हिजो मात्रै स्वास्थ्य मन्त्रालयका सचिव डा.सेनेन्द्रराज उप्रेतीलाई नक्कली भनिएका डाक्टरलाई बिरामी जाँच्न नदिन निर्देशन प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो ।
२४ घण्टाभित्र हाजिर हुन भनिएका सरकारी स्थायी डाक्टर तीन तथा करार सम्झौतामा कार्यरत सरकारी डाक्टर भने पाँच जना रहेको बताइएको छ ।
निजी अस्पतालमा कार्यरत चिकित्सकको भने लाइसेन्स निलम्बन गर्न नेपाल मेडिकल काउन्सिलमा पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले चलाएको अपरेशन क्वाकबाट हालै ३७ जना चिकित्सक नक्कली प्रमाणपत्रकै आधारमा यस पेशामा संलग्न भएको तथ्य फेला परेको थियो ।