बुधबारको संसद्ले बजेटसम्बन्धी विधेयक अनुमोदन गरी संशोधन दर्ताका लागि स्वीकृत गरेको छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले असार ६ गतेबाट मन्त्रालयगत शीर्षकमा छलफल प्रारम्भ गरी असार २२ गते पारित गर्ने कार्यतालिका तय भएको जानकारी दिनुभयो । गौतमले भन्नुभयो, “असार ६ गतेबाट मन्त्रालयगत शीर्षकमा छलफल हुनेछ । कुनै अवरोध नभए २२ गते बजेट पारित हुनेछ । ”
सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार ६ र ७ गते आठवटा मन्त्रालयको वार्षिक कार्यक्रमको विनियोजन शीर्षकमा छलफल हुनेछ । यी दुई दिन विज्ञान तथा प्रविधि, पर्यटन, सिँचाइ, पशुपक्षी विकास, सामान्य प्रशासनलगायत मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ ।
कार्यतालिकाअनुसार मन्त्रालयगत छलफल असार १७ गते सकिनेछ । असार १६ र १७ गते संवैधानिक निकाय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन गरिएको शीर्षकमाथि छलफल हुनेछ ।
कार्यतालिकाअनुसार असार १८ र १९ गते सांसदले उठाउनुभएका प्रश्नको जवाफका लागि विभागीय मन्त्रीलाई अध्ययनको समय उपलब्ध गराइएको छ । असार १९ गतेबाट विभागीय मन्त्रीहरूको जवाफ सुरु हुनेछ । असार २२ गते अन्तिम दिन रक्षा र परराष्ट्र मन्त्रालयको बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीले दिनुहुनेछ । मन्त्रीको जवाफ सकिएपछि बजेटका सबै विधेयक पारित गर्ने कार्यतालिका छ ।
यसअघि बुधबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत एक्काइसौँ संशोधन विधेयक संसद्मा पेस गर्नुभयो । अर्थमन्त्रीले पेस गर्नुभएका विधेयक सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएका छन् । अब सांसदहरूले बजेटमाथि संशोधन दर्ता तथा खर्च कटौती प्रस्ताव दर्ताका लागि ७२ घण्टाको समयसीमा पाउनुहुनेछ । विभागीय मन्त्रीहरूको जवाफपछि सांसदहरूले दर्ता गर्नुभएका संशोधन प्रस्ताव र खर्च कटौती प्रस्तावमा संसद्मा ध्वनिमतका आधारमा मतदान हुनेछ । ध्वनिमतले प्रस्ताव स्वीकृत भएमा बजेट संशोधनसहित पारित हुनेछ । अस्वीकृत गरेमा सरकारले पेस गरेको बजेट जस्ताको तस्तै पारित हुनेछ ।