काठमाडौ २५ वैशाख ।
व्यवस्थापकिा संसदको बैठक अहिले बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज पनि प्रि बजेटमाथि छलफल भइरहेको छ ।
आजको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले पेश गर्नुभएको विनियोजन विद्ययकको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको संसद सचिवालयले जनाएको छ ।
हिजो सुरु भएको छलफल आजै सकेर भोली सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ ।
आजको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाश शरण महतले राजदूत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गर्नुभयो ।
उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिशोध साँध्ने काम भएको महतले आरोप लगानुभयो । केपी शर्मा ओली नेतृत्वको सरकार फेर्न एकीकृत माओवादीले चाहेकोले त्यसको आरोप राजदूतमाथि लगाउनु निन्दनीय भएको कांग्रेसको आरोप रहेको छ ।
यस्तै मधेसवादी दलले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् । बैठकसुरु हुनासाथ मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बैठक बहिष्कार गरेका हुन् ।
सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गर्नुभयो ।
उहाले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरेको बताउनु भयो ।
सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत रहेका छन् ।