काठमाडौं, १३ वैशाख ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ११ जिल्लाका ३८३ गाविसमा अनुदान पाउनयोग्य घरधनीको सूची सार्वजनिक गरेको छ ।
भूकम्पले पूर्णरुपमा घर क्षति भएकाहरुको तथ्यांक संकलन गरी अनुदान पाउनयोग्य तीन लाख ९ सय ६१ घरधनीको सूची सार्वजनिक गरेको हो ।
अनुदान पाउनयोग्य घरधनीको संख्या ओखलढुंगामा १५ हजार पाँच, सिन्धुलीमा २१ हजार १ सय १४, रामेछापमा ३० हजार ५ सय १९ र दोलखामा ४९ हजार ७ सय ५१ परिवार रहेका छन् ।
यस्तै , सिन्धुपाल्चोकमा ३५ हजार ३ सय ८, काभे्रपलाञ्चोकमा ४० हजार २ सय ६४, नुवाकोटमा ३८ हजार २ सय ३५, रसुवामा पाँच हजार ४ सय १७, धादिङमा २३ हजार ४ सय ४०, मकवानपुरमा सात हजार ४ सय १२ र गोरखामा ३४ हजार ४ सय ९६ रहेको छ ।
सार्वजनिक भएको अनुदान पाउनयोग्य घरधनीको नाम सूची सम्बन्धित जिल्ला विकास समितिको कार्यालयमा पठाइएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
तथ्यांक संकलनको बाँकी विवरण प्राप्त भएपछि अनुदान सम्झौताका लागि योग्य अन्य घरधनीको सूची पनि क्रमशः सार्वजनिक गर्दै लगिने प्राधिकरणले जनाएको छ ।
गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकको परकम्पले करिब आठ लाख घर पूर्णरुपमा क्षति भएको थियो ।
अनुदान सम्झौता भएपछि सरकारले तीन किस्तामा क्रमशः रु ५० हजार, रु ८० हजार र रु ७० हजार गरी रु दुई लाख भूकम्पपीडितलाई रकम वितरण गर्नेछ ।