चितवन, चैत्र २२
गृहमन्त्री शक्तिबहादुर बस्नेतले सुशासन, सामाजिक न्याय र आर्थिक विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
चितवनको रत्ननगरमा भएको रत्ननगर उद्योग बाणिज्य संघको १७ औँ साधारणसभामा आज सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले सरकारको प्राथमिकताका विषयमा राष्ट्रिय एकता र सहमतिको खाँचो रहेको औंल्याए ।
कार्यक्रम उद्घाटनपछि मन्तव्य राख्दै गृहमन्त्री बस्नेतले भने, ‘म र मेरो मान्छे भन्ने मानसिकताबाट मुक्त भयो भने सबै कुरा सम्भव छ, यस्तो मानसिकता नत्यागेसम्म विकास सम्भव छैन ।’ आर्थिक समृद्धिले शान्ति सुरक्षामा सहयोग गर्ने र शान्ति सुरक्षाले आर्थिक विकासमा सहयोग गर्ने उनको भनाई थियो ।
‘पब्लिक प्राइभेट पार्टनरशीप’ भन्दा बाहिर गएर आर्थिक विकास हुनै नसक्ने उनको तर्क थियो । देशमा विगतमा देखिएका असहज परिस्थितिले आर्थिक विकासमा ठूलो नोक्सान गरेको स्मरण गर्दै मन्त्री बस्नेतले भने, ‘अब इन्धन अभावमा एक घण्टा पनि लाममा बस्नु नपर्ने ग्यारेन्टी सरकारले दिन्छ ।’
कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सबै क्षेत्र मिलेर आर्थिक विकासको अभियान थाल्नुपर्ने बताए ।