काठमाडौ २०चैत्र । नेपाल आयल निगमले अब पेट्रोल लिनका लागि लाइन बस्नु नपर्ने जनाएको छ । आइओसीबाट पर्याप्त मात्रामा पेट्रोल आयात भइरहेकाले आजदेखि पेट्रोलको लाइनमा बस्नु नपर्ने निगमको दाबी छ ।
आइओसीबाट आयात रोकिने भन्ने हल्लामा धेरैले पेट्रोल संचय गर्न थालेको भन्दै निगमले त्यसो नगर्न पनि अनुरोध गरेको छ । आईओसीबाट आयात रोकिने वा घट्ने कुनै सम्भावना नरहेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनु भयो ।
आईओसीले मागे जति तेल भरिदिने बताएकाले बजारमा अभाव नहुने उहाँको दाबी छ । गएको हप्तामा होलीका कारण आयात केही कटौती भए पनि अहिले कुनै समस्या नहरेको प्रवक्ता घिमिरेले बताउनुभयो ।
यस्तै एक दुई दिन अघि पेट्रोल पम्पलाई मागे जति वितरण गर्न नसके पनि आजदेखि माग अनुसारकै परिमाणमा विक्रि गर्ने निगमले जनाएको छ । पेट्रोलको आयात र वितरण सहज भए पनि डिजेलका लागि भने केही समय लाग्ने निगमको भनाई छ ।