जाजारकोट, १७ चैत ।
जाजारकोटका अधिकांश किसानको सुधारिएको गोठ नहुँदा पशुपालन व्यवसाय सङ्कटमा परेको छ ।
परम्परागत पशुपालन व्यवसाय गर्ने किसानलाई आवश्यक ज्ञानको कमी हुँदा सुधारिएको गोठ प्रयोग हुन नसकेको हो । ग्रामीण भेगका किसानले सबै पशुचौपाया, भेडा, बाख्रा, बोका, एकै ठाउँमा बाँध्दा पशुपालन व्यवसाय फस्टाउन नसकेको जिल्ला पशुसेवा कार्यालयका पशुचिकित्सक डा गुरुप्रसाद खकुराल बताउनुहुन्छ ।
“पशुसेवा कार्यालयसँग समन्वय नगर्दा र आवश्यक ज्ञानको अभावमा यहाँका किसानले गोठ सुधार गर्न सकेका छैनन्” उहाँले भन्नुभयो । पशुचौपाया बाँध्ने गोठ छुटाछुटै गरिनुपर्ने भए पनि जिल्लाका अधिकांश किसानले एकै ठाउँमा बाँध्ने गरेका छन् ।
पशु चौपायाको वृद्धि विकास र स्वस्थ्य बनाउनका लागि खोर फरक÷फरक बनाउनुपर्ने हुन्छ । बाख्राको खोरमा खसीसँगै नराखेर अर्को ठाउँमा राख्दा स्वास्थ्यको लागि पनि राम्रो हुने तथा वृद्धि विकास छिटो हुन्छ । पशुपालन व्यवसाय विकासका लागि हाडनाता करणीबाट जन्मिएका पशुचौपाया वृिद्ध विकासमा समस्यापर्ने भएकाले कार्यालयले सिफारिस गरेको उन्नतजातको राँगा, बोका प्रयोग गर्नुपर्ने जिल्ला पशुसेवा कार्यालयको सुझाव छ ।
कार्यालयका अनुसार सुरक्षित खोर नहुँदा जिल्लामा सात प्रतिशत बाख्रा तुहिने गरेका छन् । यस्तै जन्मिसकेका ११ प्रतिशत पाठापाठी असुरक्षित खोरकै कारण मर्ने गरेका पाइएको छ । करिब ३५ प्रतिशत बाख्राले जुमल्याह पाठापाठी जन्माउने गरेको तथ्याङ्क रहेको छ । जिल्लामा मासिक ५१० तथा वार्षीक ६ हजार बढी खसी काटिने गरेको तथ्याङ्क छ ।
जिल्लामा रु सात करोड ९५ लाख ६० हजारको मासु वार्षिक रुपमा बिक्री हुने गरेको पशुसेवा कार्यालयले जनाएको छ । मासु काट्दा खसी र बोकाको स्वास्थ्य अवस्थाको बारेमा थाहा नपाइकन जथाभावी काट्दा मानव स्वास्थ्यमा असर पर्ने गरेको छ ।
ग्रामीण क्षेत्रमा पशुचौपायाका लागि औषधि बिक्री गर्ने पसल नहुनु र सेवा केन्द्र टाढा हुनुले स्थानीयवासी मारमा परेका छन् । पशुचौपाया बिरामी हुँदा सेवा केन्द्रसम्म पु¥याउनका लागि बाटोघाटोको असहजताले किसान झन समस्यामा पर्दै आएका छन् ।
जिल्ला पशु कार्यालयले प्रभावकारी रुपमा किसानका कुरा सुन्ने र व्यवसायीमुखी किसानाई समय समयमा जनचेतनामूलक कार्यक्रम गरेमा पशुपालन व्यवसायमा सुधार हुने देखिन्छ । जिल्लाका २६ गाविस र एक नगरपालिकामा एक लाख एक हजार बढी बाख्रा रहेका तथ्याङ्क छ । जिल्लाका चार स्थानमा बधस्थलको व्यवस्था गरिएको छ ।
“सबै सेवा केन्द्रमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा किसानलाई प्रभावकारी सेवा दिन सकेका छैनौँ” कार्यालय प्रमुख खकुरालले भन्नुभयो ।