वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’

वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चितवन, ५ चैत ।

विश्व संरक्षण सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जले आगलागीबाट वन्यजन्तु जोगाउन ‘काउन्टर फायर’ सहितको आगलागी नियन्त्रण अभियान सुरु गरेको छ । आगलागीको मौसम सुरु भएकाले वन्यजन्तुको सुरक्षालाई ध्यान दिँदै यस्तो अभियान थालिएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले मुख्यगरी निकुञ्जभित्र ‘काउन्टर फायर’का लागि प्रविधिज्ञ कर्मचारीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । कुनै क्षेत्रमा भीषण आगलागी भइरहेको छ र त्यो आगलागी नियन्त्रण गर्ने अवस्थामै छैन भने विपरीत दिशाबाट आगो लगाएर नियन्त्रण गर्ने पद्धतिलाई काउन्टर फायर भनिन्छ ।

संरक्षित क्षेत्र भएकाले विपरीत क्षेत्रबाट आगो लगाउँदा सीमित क्षेत्रबाट आगो नियन्त्रण हुने भएकाले यो पद्धति निकुञ्जका लागि उपयुक्त भएको अर्याल बताउनुहुन्छ । “निकुञ्जभित्र काठका मचान छन्, ती मचान नजिकै नियन्त्रण गर्न नसकिने आगो लागेको छ भने मचान छेउबाट नियन्त्रणमुखी आगलागी गराउँदा मचान जोगिने र आगो पनि नियन्त्रणमा आउने हुन्छ, नत्र मचान नै जल्न सक्छ”, अर्यालले भन्नुभयो ।
यो काउन्टर फायर अन्य क्षेत्रमा पनि उपयुक्त हुन सक्छ । मध्यवर्ती क्षेत्रका गाउँलेलाई चेतनामूलक कार्यक्रमसहित अग्नि रेखा निर्माण तथा विगतका फायर लाइनको मर्मत गरेर आगलागी नियन्त्रण अभियानसमेत सुरु गरेको निकुञ्जका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । यहाँका फायर लाइनले आगलागी नियन्त्रणको मात्रै काम गर्दैन चोरी–सिकार नियन्त्रणलगायतका कामका लागिसमेत प्रयोग हुन्छन् ।

संरक्षित जङ्गली जनावरको सुरक्षाका लागि निकुञ्जले अहिले आगलागी नियन्त्रणमा चनाखो हुन कर्मचारी, सेना तथा मध्यवर्तीका स्थानीयवासीलाई आग्रह गरेको छ । मध्यवर्र्ती क्षेत्र व्यवस्थापन समिति र उपसमितिलाई परिपत्र नै जारी गरेर आगलागीमा चनाखो हुन र अग्नि रेखा व्यवस्थित गर्न भनिएको अर्यालले बताउनुभयो । आगो उत्पन्न हुने वस्तुहरु मध्यवर्ती क्षेत्रमा लैजानसमेत रोक लगाएर अभियान थालिएको सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी अर्यालले बताउनुभयो ।

चितवन निकुञ्जका बाघ, गैँडा, हात्ती, भालु, जरायो, चित्तल जस्ता संरक्षित जनावर मध्यवर्ती वनमा समेत आवतजावत गर्ने गरेका छन् । त्यसैले मध्यवर्तीका बासिन्दालाई आगलागी नियन्त्रणका उपायका बारेमा समेत सचेतना दिइएको छ । चितवन निकुञ्जमा ६०५ वटा गैँडा मात्रै छन् । यहाँ १२० भन्दा बढी बाघ छन् । गौँरी गाईको उपस्थिति पनि राम्रो छ । चराचुरुङ्गीको समेत राम्रो बासस्थान भएकाले यो क्षेत्र अति संवेदनशील मानिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी