विगतका मेरा काम नै मैले जित्ने आधार हुन्– कांग्रेस नेता खड्का

विगतका मेरा काम नै मैले जित्ने आधार हुन्– कांग्रेस नेता खड्का

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

एकपटक एक छलफलमा सहभागी हुन सरकारका केही मन्त्री, विभिन्न पार्टीका नेताहरु एकीकृत माओबादी अध्यक्ष प्रचण्डको घरमा पुगेका थिए । वरिपरि सुरक्षाका साथ मन्त्रालय र पार्टीका गाडीहरु लिएर प्रचण्ड निवास पुगेका मन्त्री, पूर्वमन्त्री र केन्द्रीय सदस्यहरु छक्क परे जब त्यतिबेलाका शहरी विकास मन्त्री एवम कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्का मोटरसाईकलबाट ओर्लिएर बैठकस्थलभित्र छिरे । एउटा बहालवाला मन्त्री बिना सुरक्षा एउटा मोटरसाईकलको पछाडि बसेर आएको देखेर उनिहरु छक्क परे ।
उदयपुर क्षेत्र नम्बर १ मा संविधान सभाको दुइ पटक भएका निर्वाचनमा अत्याधिक मतले विजयी भएका खड्का सुरक्षा गल्ति गर्नेहरुलाई चाहिने बताउँछन् । उनी भन्छन्, ‘हामी जनताका मान्छे हौँ, जनताका लागि काम गरिरहेका छौँ भने हामी डराउनुपर्ने कारण नै छैन । आर्थिक मितव्ययिताको पक्षमा मैले अभ्यास गरेको हुँ । भविष्यमा पनि मबाट राज्यको ढुकुटि दुरुपयोग हुने कुनै पनि गतिविधि हुनेछैन ।’
बि.सं.२००५ साल चैत्र ७ गते भोजपुरमा जन्मिएका कांग्रेस केन्द्रीय सदस्य खड्का अर्थशास्त्रमा भारतको पुनेबाट विद्यावारिधि (पिएचडी) हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका खड्काले नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा उनका सल्लाहकारका रुपमा काम गरेका थिए । उनी दिवंगत सुशिल कोइरालाको नेतृत्वको सरकारमा शहरी विकास मन्त्री भएका थिए । पूर्व मन्त्री खड्का पत्रपत्रिकाहरुमा समसामयिक बिषयमा लेखहरु पनि लेखिरहन्छन् ।
यसअघि पनि केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजयी भएका खड्काले कांग्रेसको जारी १३ औँ महाधिवेशनमा फेरि केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन् । पदाधिकारीका ३ मुख्य पदबाहेक ६१ पदमा ३ सय ६५ जनाको उमेदवारी परेको अवस्थामा अरुभन्दा के फरक छ खड्कामा ? प्रस्तुत छ पत्रकार नवराज कुँवरले उनै खड्कासंग गरेको कुराकानीको यो अंश ।

तपाईको राजनीतिक पृष्ठभूमि के हो ?
म २०२३ सालबाट नेपाल कांग्रेसबाट राजनीतिमा सक्रिय छु । त्यतिबेलाको विद्यार्थी आन्दोलनमा विराटनगर र काठमाडौँबाट पटक–पटक पक्राउ परेँ । जेलनेल, शारिरीक मानसिक यातना भोगेको छु । थुपै्र पिटाई खाईयो । तर मैले राजनीतिबाट आजसम्म जतिसुकै चुनौतिहरु आए पनि थकाई मारेको छैन । म निरन्तर सक्रिय छु । मैले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेदारी सम्हालिसकेको छु । संविधानसभाको दुइवटै निर्वाचनमा मैले भारी मतले विजय हाँसिल गरेँ । यसअघि केन्द्रीय सदस्यमा विजयी भएँ ।
तपाईलाई नै किन केन्द्रीय सदस्यमा जिताउनुपर्ने मतदाताले ?
पार्टी र देशलाई हाँक्न सक्ने नेतृत्व अहिलेको अधिवेशनको माग हो । जनतासंग सँधै पारस्परीक सम्बन्ध कायम गर्ने र जनजीविकाप्रति विशेष चासो राख्ने नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता पनि हो । पार्टीलाई जनताको पार्टी बनाउने नेता चयन गर्ने जनताको चाहाना हो ।
म जनताको समस्यासंग विशेष चासो राख्ने मान्छे हुँ । विकासका कुरा हैन, कामै गरेर देखाउने मान्छे हुँ । देशबाट ठूलो संख्यामा युवाहरु विदेश पलायन भईरहेका छन्, यो एउटा समस्या हो हाम्रो । हुन त रेमिन्ट्यान्स आएको छ भन्छन् तर हाम्रा युवाहरुको भविष्य र पसिना बर्बाद भईरहेकोप्रति कसैले चासो दिएका छैनन् । यो समस्याको न्यायोचित सम्बोधन गर्नुछ । देशमै रोजगारीका व्यवस्था गर्नेगरि काम गर्न आवश्यक छ । नेपालमा मधेसी, जनजाती, दलित तथा उत्पीडनमा परेका समुदायका जति मुद्धाहरु छन् त्यहाँ पनि धेरै कुरा अझै सम्बोधन गर्नुनै छ । देशमा नयाँ संविधान लागु भएको छ यसको सफल कार्यान्वयन पनि गर्नु छ । यी सब मुद्धा व्यवहारतः लागु गर्न सक्ने जनप्रतिनिधि अहिले खाँचो छ । विगतमा पनि मलाई साथीहरुले जिताउनुभयो । मैले काम गरेरै देखाईदिएँ । शहरी विकास भएका बेला भूकम्प गयो । त्यो बेला मैले जनताको गास बासको लागि आफै खटेर विभिन्न क्षेत्रमा पुगेर जनतालाई राहत वितरण गरेँ । सभासद्, मन्त्री हुँदासमेत मैले राष्ट्रको ढुकुटि दुरुपयोग गरिन। मैले गरेका कामहरुनै मैले जित्ने आधार हुन् ।

यसअघि पनि तपाईले केन्द्रीय सदस्यमा जित्नुभएको थियो, योपटक तपाईसंग नयाँ कुरा केही छन् ?
सबै कुरा नयाँ नै पनि छैनन् । व्यवहारतः लागु हुन बाँकी कतिपय पुरानै मुद्धाहरु पनि कार्यान्वयनमा लैजानुछ । पार्टीलाई जनताले भरोसा गर्ने पार्टीरुपमा अझै स्थापित गराउनु छ । पार्टीभित्र देखिएका धु्रविकरणको अन्त्य गर्दै एकतावद्ध बनाएर लैजानुछ । जनताको ७ दशक लामो प्रतिक्षापछि नयाँ संविधान आएको यसको सफल कार्यान्वयन गर्नुछ । मैले अघि नै पनि भने देशका कर्णधार युवाहरुको तमाम मुद्धा छन् । समावेशीताका कुराहरु छन् । विकासका कुरा छन् । त्यतिमात्रै हैन आर्थिक शुसासनका कुरा छन् ।

तपाईलाई तिर्पाल काण्डमा जोडेर आलोचना गरियो नि ?
जसले काम गर्छ, उसको आलोचना समर्थन हुन्छन् । हाम्रो परिपाटी नै खराब छ । जसले राम्रो काम गर्छ उसैलाई हतोत्साहित गर्ने र अगाडी जानबाट रोक्ने प्रयास गरिन्छ । मैले गल्ति गरेको पुष्टि हुन्छ भने म कारबाही भोग्न तयार छु मैले उतिबेलै देखि भनेको हुँ । त्यसैले त्यो आलोचना हतोत्साहीत गर्ने र राम्रो काम गर्नबाट रोक्ने अभिप्रायबाट मात्रै भएको हो । तर म जनताको मान्छे हुँ केही परे जनतामै जाउँला तर जति समय जिम्मेवारीमा बसिन्छ त्यो समय पूर्ण जनताका लागि खर्च गर्ने हो ।

कांग्रेसमा अहिले देखिएको ध्रुविकरणमा तपाई कुन पक्ष ?
एउटै पक्ष छ त्यो हो संस्थापन । त्यो पक्षभित्र देउवाजीहरु पनि हुनुहुन्छ । तत्कालीन प्रजातान्त्रिक काग्रेस भएका बेला संस्थापन देउवाजीसंग एकता गर्न गएको हैन, संस्थापनमा देउवाजी आउनुभएको थियो । इतिहास भूल्न हुँदैन । त्यसैले संस्थापन पक्ष नै कांग्रेसको जग हो, यही पक्ष हो ।
१३ औँ महाधिवेशन नितिभन्दा नेतृत्वकै होडमा भुलिएको देखियो नि?
निश्चित रुपमा यस्तो देखिएको छ । निति तथा कार्यक्रममाथी पूर्ववत रुपमा छलफल भईसकेको हुनुपथ्र्यो । तर आज पेश गरेर भोलीपल्ट छलफल गरेर पारित गरिहाल्नुपर्ने अवस्थाले अलि खल्लो बनायो । तर आगामी दिनमा त्यस्तो नहोस् र हुनेछैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी