प्यूठान, ४ फागुन ।
पछिल्लो समय प्यूठान जिल्लामै व्यावसायिक माछापालन गर्ने किसान बढ्दै गएका छन् ।
कृषि व्यवसायमा संलग्न कृषक माछाबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसायमा आकर्षित हुँदै गएका हुन् ।
दश वर्षयता माछापालन गर्दै आएका मरन्ठाना–४ का दिनबहादुर जीसी जिल्लाकै उत्कृष्ट माछापालक कृषक बन्नुभएको छ । सुरुमा एक रोपनी जग्गामा माछा पालन सुरु गरेका जीसी अहिले यही व्यवसायबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।
“सुरुमा धान खेती गरेको एक रोपनी जग्गामा माछापालन सुरु गरेको थिए” उहाँले भन्नुभयो । कमन कार्प जातका ५०० भुराबाट माछापालन व्यवसाय थालेका जीसी सुरुको अवस्थामा ज्ञान नहँुदा मनग्य आम्दानी गर्न नसकिएको बताउनुहुन्छ । अहिले वार्षिक रु पाँच लाखसम्मको आम्दानी हुन थालेको उहाँको भनाइ छ । बाह्र रोपनी जग्गामा १० वटा पोखरी बनाई उहाँले माछापालन गर्दै आउनुभएको छ ।
प्रतिकिलो रु ४०० मा माछा बिक्री गर्दै आउनुभएका जीसी जिल्लाका विभिन्न ठाउँबाट माछा किन्न घरमै ग्राहक आउने गरेको बताउनुहुन्छ । यस्तै प्यूठान नगरपालिका खैराका १० जना कृषकले रु ५५ लाखको लागतमा माछापालन सुरु गरेका छन् । उनीहरुले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्मको आम्दानी लिन थालेका छन् ।
“उत्पादन गर्न प्राविधिक समस्या हुने गरेको छ” कृषक छन्दबहादुर बस्नेतले भन्नुभयो । जिल्लाको झिमरुक उपत्यका तथा माडि क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ । वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरी अनुदान दिन थालिए पछि जिल्लाका करिब दुई सय कृषक माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा जोडिएका बताउनुहुन्छ ।
“पछिल्लो आवमा रु २५ लाख अनुदान उपलब्ध गराएका छौँ” उहाँले भन्नुभयो । दुई सय वर्गमिटर क्षेत्रफलको आधारमा रु २० हजारका दरले मत्स्यपालन र पोखरी निर्माणका लागि अनुदान दिने गरिएको छ । जिल्लाको मरन्ठाना, खलङ्गा, ओखरकोट, बाँदीकोट, चुँजा, तुषारा, बिजुली, धर्मावती, बिजुवार र बर्जिवाङका किसानले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन् । रासस