कञ्चनपुर, ७ माघ ।
पुनर्वासको त्रिभुवनबस्तीमा कृषकको सामूहिक पहलमा बेमौमी तरकारीखेती सुरु गरिएपछि यहाँका १५ परिवारको आर्थिक अवस्थामा सुधार आएको छ ।
पुनर्वास नगरपालिका– ६ स्थित त्रिभुवनबस्तीमा नमूना तरकारी उत्पादन समूह बनाइ कृषकले तरकारीबाट मनग्य आम्दानी गर्न थालेका छन् । युएसएडद्वारा सञ्चालित किसान परियोजनाको आर्थिक सहयोगमा उनीहरू तरकारी खेतीमा जुटेका हुन् । गत वर्ष तरकारी बिक्री गरी रु एक लाख बढी आम्दानी गरेको पुनर्बास नमूना तरकारी उत्पादन समूहका सचिव रमेश थापाले बताउनुभयो ।
कृषि सेवा केन्द्रबाट प्राविधिक सहयोग पाएका कृषकले पुनर्वास सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको सात कट्ठा जमिनमा बेमौसमी तरकारी उत्पादन गर्दैआएका छन् ।
समूहमा आबद्ध भएर तरकारी उत्पादनमा जुट्नु सहज भएको समूहका अध्यक्ष गोरखबहादुर थापाको भनाइ छ । यसवर्ष रु ५० हजारको लगानी गरेर तरकारी खेती सुरु गरिएको र रु डेढ लाख आम्दानी गर्ने लक्ष्य रहेको छ ।
समूहमा आबद्ध भएर तरकारीको उत्पादनमा जुटेका कृषकलाई किसान परियोजनाले रु ४१ हजार सहयोग गरेको छ ।